काठमडौं । टोकियो ओलम्पिकमा भारतका निरज चोपडाले ज्याभलिङ थ्रोमा स्वर्णपदक जित्दै इतिहास रचे । निरजले दिलाएको सफलतामा पूरै देशवासीले उत्सव मनाए ।
सफलतापछि निरजलाई उपहारको ओइरो लाग्यो । भारतले १६ वर्षपछि ओलम्पिकमा स्वर्ण जितेको हो । भारतीय खेलाडीदेखि सबै तह र तप्काका व्यक्तिले उनको प्रशंसा गरेका छन् ।
निरजलाई करोडौँ रकमको पुरस्कार दिने घोषणा गरिएको छ । राज्य सरकारले ‘वान क्लास’ जागिर दिने जनाएको छ । ओलम्पिकमा प्राप्त एक मात्र स्वर्णको उत्सवमा भारत सरकार, राज्य सरकार, निजी कम्पनीले निरजलाई करोडौँ रकम, जागिर र गाडी दिने घोषणा गरेका हुन् ।
निरजका लागि हरियाणा सरकारले सबैभन्दा पहिले पुरस्कारको घोषणा गरेको थियो । निरजलाई ६ करोड भारतीय रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको थियो । मुख्यमन्त्री मनोहरलाल खट्टरलले हरियाणा सरकारले उनलाई वान क्लास जागिरसमेत दिने घोषणा गरे ।
त्यस्तै, पन्जाबका मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले पनि दुई करोड भारु दिने घोषणा गरेका छन् । आफूले यो सफलतामा खुसी मनाएको बताउँदै पुरस्कारको घोषणा गरेका हुन् ।
मणिपुर सरकारबाट एक करोड भारुको पुरस्कार घोषणा गरिएको छ । उनको सफलतालाई लिएर खुसी मनाउँदै पुरस्कार घोषणा गरिएको हो ।
यता, खेलसम्बद्ध संस्था भारतीय क्रिकेट कन्ट्रोल बोर्डले समेत निरजलाई पुरस्कारस्वरुप एक करोड भारु दिने घोषणा गरेको छ ।
बोर्डले रजतपदक जित्ने मिराबाइ चानु र रवि दहियालाई ५०/५० लाख र कास्यपदक जितेका बजरंग पुनिया र पिवी सिन्धुलाई २५/२५ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
आईपीएल टिम चेन्नई सुपर किंग्सले एक करोड भारुको पुरस्कार रकम घोषणा गरेको छ । चेन्नई टिमबाट एक करोड दिने घोषणा गरिएको हो । चेन्नईले ८७५८ नम्बरको विशेष जर्सी समेत बनाउने जनाएको छ । निरजले आफ्नो दोस्रो थ्रोमा ८७.५८ मिटर दूरी भाला फ्याँकेका थिए ।
त्यस्तै, भारतको अनलाइन पाठ्यक्रम उपलब्ध गराउने कम्पनी बायजुसले निरजलाई दुई करोड भारु दिने घोषणा गरेको छ ।
यता, भारतीय हवाई कम्पनी इन्डिगोले निरजलाई एक वर्ष निःशुल्क हवाई उडानको टिकट दिने भएको छ । स्किम सन् २०२१ अगस्ट ८ देखि २०२२ अगस्ट ८ सम्म लागु हुने बताइएको छ ।
अटोमोबाइल कम्पनी महिन्द्रा ग्रुपका अध्यक्ष आनन्द महिन्द्राले निरजलाई गाडी उपहार दिने बताएका छन् ।