चितवन। चितवनका राजनीतिक दलहरुले आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भएको सर्वदलीय बैठकमा नेताहरुले आचारसंहिता पालना गर्न प्रतिवद्ध रहेको बताएका छन् । एमाले नेता कृष्णभक्त पोखरेल, माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारी, कांग्रेस चितवनका उपसभापति राजिव न्यौपाने, एकिकृत समाजवादी चितवनका उपाध्यक्ष अरुणपीडित भण्डारी, राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकाल, राप्रपा नेपाल चितवनका अध्यक्ष विष्णुप्रसाद खराल लगायतका नेताहरुले आचारसंहिता पूर्णरुपमा पालना गर्न तयार रहेको बताउनुभयो ।
मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले चुनावीप्रचार र उम्मेदवारी दर्ता कार्यमा २५ जना बढी सहभागि नगर्न आग्रह गर्नुभयो । “बाजा ¥याली सहित भीडभाड सहित मनोनयन दर्ता गर्न नआउनु, आचारसंहिताले निषेध गरेको छ”, उहाँले भन्नुभयो, “पार्टीका १० बढी झण्डा प्रयोग गर्न, राष्ट्रिय झण्डा प्रयोग गर्न मिल्दैन ।” उहाँले चुनावी प्रचार विहान ७ बजेदेखि बेलुका ७ बजेभित्रै गरिसक्न समेत आग्रह गर्नुभयो । निर्वाचन आयोगले जारी गरेको ६० बुँदे निर्देशन पुर्णरुपमा पालना हुने विश्वास गर्नुभयो । “चितवनले देशभरी सन्देश दिन सकोस्”, उहाँले भन्नुभयो, “आचारसंहिताभित्रै रहेर चुनावी गतिविधिहरु हुनेमा ढुक्क छौँ ।”
चितवन–३ का निर्वाचन अधिकृत हरिसिंह धामीले सहज वातावरण निर्माणमा सबै दल तथा उम्मेदवारहरु लाग्न आग्रह गर्नुभयो । चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गर्दा सत्तागठबन्धनले दिउसो ३ बजे, एमालेले दिउसो २ बजे, राप्रपाले ४ बजे र अन्य दलहरुले विहान ११ बजे उम्मेदवारी दर्ता गर्ने जानकारी गराएका छन् ।