साउथ । अल्ट्रा लक्जरी कार ‘रोल्स रोयस कार’ को विषयमा साउथ सुपरस्टार धनुषलाई अदालतले ‘कडा’ जवाफ दिएको छ । धनुषले ब्रिटेनबाट उक्त लक्जरी कार ल्याउन प्रवेश करमा छुटको व्यवस्था गरिदिन गरेको निवेदनको सुनुवाइमा अदालतले ‘कडा’ जवाफ दिएको हो ।
धनुषले सन् २०१५ मा यो कार भित्र्याउन कर छुटका लागि अदालतसमक्ष अपिल गरेका थिए । सन् २०१८ मा यो निवेदन सर्वोच्च अदालतबाट सकिसक्दा पनि अभिनेताले आजसम्म पनि कर नतिरेको आरोप अदालतले लगाएको छ ।
बिहीबार धनुषको मुद्दामा सुनुवाइको क्रममा, अभिनेताका वकिलले धनुष कर तिर्न र निवेदन फिर्ता लिन पूर्ण रूपमा तयार भएको जानकारी दिएका थिए । यसै विषयमा न्यायाधीश एसएस सुब्रमण्यम चकित हुँदै देशका आम मानिसले पनि विभन्न प्रकारका करहरू तिर्दा यी सुपरस्टार यस्तो लक्जरी कार भित्र्याउन कर छुटको माग कसरी गरिरहेका छन् भन्दै प्रतिप्रश्न गरेका थिए । उनले आम सर्वसाधारणहरू एउटा साबुनमात्र किन्दा पनि कर तिरिरहेको बेला अभिनेताले कर छुटको माग गर्नु आश्चर्यको विषय भएको बताए ।
यसअघि मात्रै अर्का साउथ स्टार विजयलाई पनि चेन्नई उच्च अदालतले कडा जवाफ फर्काएको थियो । विजयलाई अदालतले ‘रिल’ मा मात्रै नभई ‘रियल’ लाइफमा पनि हिरोको रूपमा प्रस्तुत हुनुपर्ने सुझाव दिएको थियो । यति मात्रै नभई अदालतले उनलाई १ लाख जरिबाना पनि तिराएको थियो । नवभारत टाइम्सबाट ।