काठमाडौं । पूर्वकप्तान पारस खड्काले लगाउँदै आएको ७७ नम्बरको जर्सी अब राष्ट्रिय क्रिकेट टिममा प्रयोग नगरिने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार पूर्वकप्तान पारसले प्रयोग गर्दै आएको ७७ नम्बरको जर्सी अन्तर्राष्ट्रिय क्रिकेटमा प्रयोग नगरिने निर्णय गरेको हो ।
पारसले प्रयोग गरेको जर्सी ‘रिटायर्ड’ गर्ने निर्णय गरिएको हो । नेपालमा कुनै पनि खेलमा यस्तो गरिएको यो पहिलोपटक हो ।
पारसले नेपाली क्रिकेटमा दिएको योगदानको सम्मानमा उनले प्रयोग गर्दै आएको ७७ नम्बरको जर्सी प्रयोग नगर्ने निर्णय गरिएको क्यानले जनाएको छ ।
उनले गएको मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा गरेका थिए । ३४ वर्षीय अलराउन्डर पारसले १७ वर्षको क्रिकेट करियरको अन्त्य गरेका हुन् ।
पारसले सन् २००४ मा १५ वर्षको उमेरमा सिनियर टिममा डेब्यु गरेका थिए । उनले नेपालका लागि १० एकदिवसीय अन्तर्राष्ट्रिय र ३३ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।