चितवन। चितवनमा यही मंसिर ४ गते हुने संघिय र प्रादेशीक निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय आज स्थापना गरिएको छ । औद्योगिक व्यवसाय बिकास प्रतिष्ठानको कार्यालय रहेको भरतपुर महानगरपालिका वडा नम्बर १० मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
मुख्य निर्वाचन अधिकृतको रुपमा जिल्ला न्यायधिश रितेन्द्र थापालाई जिम्मेवारी दिईएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले चितवन क्षेत्र नम्बर २ समेत हेर्ने छ । यस्तै क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको रुपमा रेशममणी सिग्देल र क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको रुपमा हरिसिंह धामी लाई जिम्मेवारी दिईएको छ । ती दुई क्षेत्रको निर्वाचन अधिकृतको कार्यालय खैरहनी र रामपुरमा यही असोज २० गते स्थापना गरिदैं छ । मुख्य निर्वाचन अधिकृत थापा र प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ले कार्यालयको उद्घाटन गरेका हुन् । सो अबसरमा उनले कार्यालय स्थापना भए संगै मंसिर ४ गते हुने निर्वाचनको कामको प्रारम्भ भएको बताए ।
यही असोज २३ गते हुने उम्मेदवार मनोनयका लागि आबश्यक पर्ने निर्वाचन सामाग्री तयारी लगाएतका काम अघि वढाईने बताए । कार्यालयले यहि असोज २१ गते सर्बदलिय र जिल्ला आचारसंहिता अनुगमन समितिको बैठक बोलाउने उनले जानकारी दिए । निर्वाचन सम्पन्न गर्न सबै क्षेत्रबाट सहयोगको लागि उनले अनुरोध समेत गरे । सो अबसरमा प्रहरी उपरिक्षक नवराज अधिकारी, शशस्त्र प्रहरीबलका प्रहरी उपरिक्षक मनोज थापा, निर्वाचन कार्यालय प्रमुख भिमशेन कार्की लगाएतको उपस्थिति रहेको थियो ।
जिल्ला निर्बाचन कार्यालय चितवनका प्रमुख कार्कीले जिल्लामा हाल ४ लाख ८ हजार ३४२ जना मतदाता रहेको जानकारी दिए । क्षेत्र नम्बर १ मा १ लाख ३९ हजार ८४५ जना, क्षेत्र नम्बर २ मा १ लाख २४ हजार २१४ जना र क्षेत्र नम्बर ३ मा १ लाख ४४ हजार २८३ जना मतदाता रहेको कार्यालयले जनाएको छ । जिल्लामा १६२ मतदान स्थल र ४६० मतदान केन्द्र रहेका छन् ।