चितवन । चितवनका कपडा एवं फेन्सी व्यवसायीलाई दशैं खल्लो भएको छ । कोरोना अघि दशैंको अवद्यिमा अपार व्यापार हुने कपडा एवं फेन्सी व्यवसायमा अहिले बजारमा आएको मन्दीले छोएको छ । व्यापार न्यून रहेको छ ।
पहिले कोरोना कहर अघि कपडा व्यवसायीले बिहान ४ बजे नै पसल खोल्ने गर्थे, पसलमा ३\४ जना काम गर्ने मान्छे हुन्थे । सामान बेच्न भ्याइनभ्याइ हुन्थ्यो । तर, अहिले त्यस्तो छैन । बजारमा आएको मन्दीको प्रभावमा कपडा व्यवसायी परेका छन् । जसले गर्दा उनीहरुको दशैं खल्लो भएको छ ।
विगत ७ वर्षदेखि भरतपुरको हाकिम चोकमा फेन्सी व्यवसाय गर्दै आएका शंखर खरेलले यसबर्ष व्यापार राम्रो नभएको बताए । उनले भने, पहिला व्यापार राम्रो हुन्थ्यो, अहिले व्यापार छैन । बैंकको लोन तिर्न सकेको छैन, बिहान बेलुका छाक टार्न समेत गाह्रो भएको छ । खरेललाई यसपटकको दशैं खल्लो लागेको छ ।
त्यस्तै, विगत ३ बर्षदेखि भरतपुरमा फेन्सी पसल गर्दै आएकी रमिता भण्डारीले पहिलाको भन्दा बजारमा मन्दी दशैंको मुखमा भएकोले बजारमा यसको प्रत्यक्ष असर परेको बताइन् । भण्डारीले स्थानीय तहको निर्वाचन पछि व्यापार माथि उठ्न नसकेको बताइन् । उनले भनिन्, कोरोना पछि व्यापार छैन, अझ स्थानिय चुनाव पघि त बजारको गति चिन्ताजनक छ ।
दशैं हो कि ? दशा भन्ने स्थितीमा कपडा व्यवसायी छन् । एकातिर दशैंको मुखमा समेत व्यापार नहुनु अनि अर्कोतिर बैंकको लोन । कपडा व्यवसायीको चोट निकै गहिरो छ ।
कपडा तथा फेन्सी व्यवसायीमात्र होइन बजारको मन्दीले सारा व्यवसायी र आम जनतालाई पिरोलेको छ । अब राज्य सुतेर बस्नु हुदैन । सरकार निन्द्राबाट उठ्न जरुरी छ । बजारको मन्दीका समस्या हल हुन जरुरी छ । मंसिर ४ मा हुने आम निर्वाचनको मुखमा जनताको घरमा चुलो बलेन भने यसको जवाफ कसले दिने ? कहिले दिने ?