चितवन। जिल्ला प्रशासन कार्यालय चितवनले कार्तिक ५ गते भित्र इजाजत प्राप्त हतियार बुझाउन आग्रह गरेको छ ।
मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै प्रशासनले इजाजत प्राप्त हतियार बुझाउन आग्रह गरेको हो । असोज ७ गते बसेको जिल्ला सुरक्षा समिति चितवनको बैठकले कार्तिक ५ गते भित्र इजाजत प्राप्त हतियार बुझाउन अपिल गर्ने निर्णय गरेको थियो ।
असोज १३ गते गृह मन्त्रालयको सचिवस्तरीय बैठकले पनि हतियार बुझाउन आग्रह गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार चितवनमा रहेका इजाजत प्राप्त हतियार नजिकको प्रहरी इकाईमा बुझाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माले बताए ।
व्यक्तिगत सुरक्षाका लागि इजाजत लिएर राखिएका हतियार निर्वाचन सुरक्षाका लागि चुनौती मानिएपछि प्रशासनको नजर त्यसतर्फ केन्द्रित भएको हो । आग्रह विपरित हतियार बुझाउन आलटाल गर्नेलाई कारबाहीको दायरामा ल्याइने समेत उनले बताए ।
व्यक्तिगत रूपमा हुने सुरक्षा चुनौतीका आधारमा प्रशासनबाट इजाजत लिएर हतियार राख्न पाउने व्यवस्था छ । निर्वाचन पश्चात उक्त हतियारहरु फिर्ता हुनेछ ।