नेपालगञ्ज । नेपालगञ्ज बजारमा छाड्ने गरिएका पशु चौपाया नेपालगञ्ज उपमहानगरपालिकाका लागि व्यवस्थापन गर्न चुनौतीको विषय बनेको छ । गाई, साढे, सुँगुर, खच्चर, गधा र भुस्याहा कुकुर नेपालगञ्जको मुख्यमुख्य चोकमा मात्र होइन गल्लीगल्लीमा देख्न सकिन्छ ।
दुई वर्षअघि नेपालगञ्जका छाडा चौपाया दैलेखमा छाड्न लगिँदा गाई, गोरु बाटोमै मरेपछि नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी अदालती मुद्दाको तारेख बोक्ने अवस्थासम्म पुगेका थिए । यो घटनाअघि पनि बाँके राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा छाडा चौपाया छाड्ने उपमहानगरपालिकाको निर्णय आलोचित बनेको थियो ।
अहिले उपमहानगरपालिकाले नेपालगञ्जको पुरैनीको खुला स्थानमा तारबार गरी चौपाया थुन्ने गरेको छ । तथापि, बजारमा छाडिने छाडा चौपाया व्यवस्थापनको चुनौतीको अन्त्य हुन नसकेको नेपालगञ्जका स्थानीय रवीन्द्रकुमार ज्ञवाली बताउछन् ।
उनले नेपालगञ्ज उपमहानगरपालिकाले यसको नियन्त्रणका लागि नीतिगत सुधार गर्नुपर्ने भन्दै नीति नियमको निर्माण गरी रणनीतिका आधारमा समस्या समाधान गर्न सुझाव दिए ।
नेपालगञ्ज–६ फुल्टेक्रामा सानो आकारको काञ्जी हाउसमा सबै छाडा चौपाया नअट्ने भएपछि वडा नं २१ पुरैनाको खाली जग्गामा खुल्लारुपमा छाडा चौपाया थुन्ने गरिएको वडाध्यक्ष राजकुमार साहुले बताए । उनले भने, “हामीले त व्यवस्थापन मात्र गर्ने हो, छाडा चौपाया सबैको सामूहिक समस्या पो बन्नुपर्छ । नेपालगञ्ज उपमहानगरपालिकाको मात्र जिम्मेवारी हो भनेर मात्र यो समस्या कसरी समाधान हुनसक्छ ? ।”
नेपालगञ्जको छाडा चौपाया नेपालगञ्जवासीद्वारा सिर्जित समस्या मात्र होइन । सीमापारी भारतको रुपैडिहा र त्यस आसपासका क्षेत्रबाट सयाैंको सङ्ख्यामा पशु यता धपाउने गरिएको छ । खच्चर कारोबारीका रोगी, थाकेका, मर्न लागेका खच्चर बजारमा यत्रतत्र छाड्ने गरेकाले पनि छाडा चौपायाको समस्या झन बल्झिएको छ । अर्कोतर्फ छाडा चौपायाका कारण सडक दुर्घटनाको जोखिम पनि बढेको छ ।
समयसमयमा पशु चौपायालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र उपमहानगरपालिकाको नगर प्रहरीको संयुक्त टोलीले काञ्जी हाउस पुर्याउने काञ्जी हाउस शाखाका पवन कनौडिया बताउछन् ।
उनका अनुसार टोलीले बजारका चारैतिर छरिएर रहेका पशु चौपायालाई जम्मा पारेर धपाउँदै काञ्जी हाउस पुर्याउने गर्दछ । छाडा चौपाया नेपालगञ्ज सहरका लागि ठुलो समस्या भएकाले यसको व्यवस्थापन तथा विकल्पका लागि विशेष कानुनसहितको रणनीतिक योजना निर्माण गर्नुपर्ने कानून व्यवसायी अधिवक्ता विश्वजित तिवारी बताउछन् ।
उनले जिल्लाका सबै स्थानीय तहले छाडा चौपायाको व्यवस्थापनको तयारीका बारेमा नेपालगञ्ज उच्च अदालतमा रिटसमेत दायर गरी त्यसको आदेशसहितको फैसला अझै कार्यान्वयनमा नआउनु भनेको दुःखद् कुरा भएको बताए ।