काठमाडौं । टोकियो ओलम्पिकअन्तर्गतको पुरुष फुटबलको स्वर्णपदक ब्राजिलको यू–२३ टिमले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा ब्राजिलले स्पेनलाई अतिरिक्त समयमा २–१ ले पराजित गरेको हो । ब्राजिललाई जित दिलाउन माथुएस कुन्हा र माल्कोमले एक/एक गोल गरे । स्पेनका मिकेल ओयार्जाबलले एक गोल फर्काए ।
खेलको ३८औँ मिनेटमा ब्राजिलका रिचार्लीसनले पेनाल्टीमा गोल गर्न सकेनन् । पहिलो हाफको इन्ज्युरी समयमा माथुएसले गोल गर्दै ब्राजिललाई १–० को अग्रता दिलाएका थिए ।
६१औँ मिनेटमा ओयार्जाबलले गोल गर्दै स्पेनलाई १–१ गोलको बराबरीमा फर्काए । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयको १०८औँ मिनेटमा माल्कोमले गोल गर्दै ब्राजिललाई २–१ को जितसहित स्वर्णपदक दिलाए ।