चितवन । आगामि मंसिर ४ गते हुन लागेको संघिय र प्रदेश सभा निर्वाचनमा चिततवमा नेकपा (माओवादी केन्द्र) गठबन्धमसँग मिलेर चुनाव लड्ने तयारीमा रहेको छ । स्थानीय तह निर्वाचनमा गठबन्धनबाट माओवादीले भारी मतले जीतेको थियो । माओवादीले संघिय र प्रदेशमा एक्लै लड्ने आँट गरेको छैन ।
प्रतिगमनकारीहरु सक्रिय भएका कारण उनीहरु विरुद्ध लड्न आगामी निर्वाचनमा पनि कांग्रेस सहित पाँच दलिय गठबन्ध मिलेर चुनाव लड्ने तयारी रहेको माओवादी केन्द्र चितवनका अध्यक्ष रामचन्द्र अधिकारी (आरसी) ले बताए ।
चितवन प्रेससँग कुरा गर्दै आरसीले भने, ‘माओवादी एक्लै लड्न नसक्ने पार्टी होइन । पाँच दलिय गठबन्धनको राजनीतिक इमान्दारिता भएका कारण यो चुनाव पनि गठबन्धनमै गएर गर्न खोजिएको हो ।’
यता नेकपा एमालेले चितवनमा एक्लै लड्ने तयारी गरेको छ । एमालेसँग केन्द्रित भएर गठबन्धन गर्न कुनै पनि पार्टी नआउने भएको भन्दै आगामी निर्वाचनमा गठबन्धनका तर्फबाट माओवादीले एकलौटी जीत हाँसिल गर्ने अधिकारीको भनाइ छ ।
जिल्लामा माओवादी भित्रबाट कुन क्षेत्रमा को उठ्ने ? भन्ने विषमा अझै टुङ्गो नलागेको अधिकारीले बताए । उनले भने, ‘गठबन्धन हुन बाँकी छ । चितवन क्षेत्र नम्बर तीनबाट प्रचण्ड उठ्नुहुन्छ । गठबन्धनपछि अरु क्षेत्रमा को उठ्ने भन्ने कुराको टुङ्गो लाग्ला ।’
चितवन ३ बाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पक्कापक्की भइसकेका छन् । २ बाट पार्टीले उनी आफैलाई सिफारीस गरेको छ । भागवण्डामा १ कि २ मध्ये एउटा पर्न सक्ने उनी बताउँछन् ।
आगामी निर्वाचनका लागि माओवादी केन्द्रले चितवनमा चुनावी अभियान चलाइरहेको छ ।