चितवन। राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले विकासको लहर ल्याउन आँफुलाई जिताउन आग्रह गरेका छन् । राप्रपा चितवन क्षेत्र नम्बर ३ ले पार्वतीपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले कालोपत्रे टाँसेको भरमा विकास ग¥यौँ भनेर भ्रम छर्नेहरुलाई विकास कसरी गर्ने हो भनेर देखाउन तयार रहेको बताए । “कालोपत्रे टाँसेको भरमा विकास हुन्छ र ? खै गुरुयोजना, ७७ वटै जिल्लामा गुरुयोजना छैनन्”, उनले भने , “टालटुले विकासले देशको ढुकुटीमात्रै सकिन्छ, भिजन भएको नेता रोज्नुस् ।”
उनले मंसीर ४ को निर्वाचनमा राष्ट्रवादी सोच भएका र राष्ट्रप्रति समर्पित भएकाहरुलाई भोट हाल्न सुझाव समेत दिए । “मंसीर ४ मा राष्ट्रवादी शक्ति राप्रपाको जित हुनुपर्छ”, उनले भने , “राष्ट्रवादीले नजिते देश विश्वको मानचित्रबाटै हट्ने जोखिम छ, देश ववार्द गर्नेहरु गठबन्धन गर्दैछन् ।” नाटकीय भाषण गर्दै हिड्ने मोटाएका राष्ट्रघातीहरुलाई धपाउनुपर्ने तर्क गर्नुभयो । उनले मार्न हिडेका र मान्छे मारेकाहरुको टाउकाको मूल्य लगाउनेहरु एउटै टोकरीमा बसेर जिल्लाहरु भाग लगाउन थालेको आरोप लगाए ।
“यो जिल्ला तेरा, यो जिल्ला मेरो भनेर भाग लगाएका छन् , देशलाई बर्बाद गर्ने सल्लाहमा छन्”, उनले भने , “उनीहरुले जिते चुनावपछि यो देश दयनीय हुनेछ, जनताको चुनावमै फैसला गर्नुपर्छ ।” उनले राप्रपालाई देशको नेतृत्व गर्ने अवसर दिएमा काम गरेर देखाउने दाबी गरे । “विदेश गएका युवाहरुलाई स्वदेशमै फर्काएर यही रोजगारी दिन्छौँ”, उनले भने , “विश्वको अगाडी कहिल्यै झुक्दैनौँ ।”
अग्रगमनको छर्लाङ मारेको भन्नेहरुले समेत देशलाई भलो गर्ने काम गर्न नसकेको जनताले बुझिसकेको उनले बताए । “राष्ट्रिय ढुकुटी रित्तिएका छन्, ऋणिहरुले ऋण तिर्न नसक्ने अवस्था छ, युवाहरु बेरोजगार छन्”, उनले भने , “अब जनता जाग्नुपर्छ, मंसीर ४ लाई सुदपयोग गर्नुपर्छ ।” जनतालाई नयाँ जीवन र देशलाई निकास दिन राप्रपानै सबैभन्दा उचित विकल्प रहेको उनको जीकिर थियो । कार्यक्रममा राप्रपा भरतपुर महानगर सचिव सुलभ सिग्देलले १ सय ५ जना पार्टी प्रवेश गरेको जानकारी दिए ।