चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय अध्यक्ष रवि लामिछानेले माडी क्षेत्रका जनताले ‘जङ्गलबाद’बाट दुख पाएको बताएका छन् । बुधबार माडीमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
यस क्षेत्रका जनताले जङ्गली जनावर र जंगलबाट आएकाहरुबाट दुख खेप्नुपरेको भन्दै ‘जंगलबाद’बाट आफ्नो पार्टीले मुक्ति दिने लामिछानेले बताए । उनले भने, ‘जंगलबाट आएकाहरुले यहाँका जनतालाई ठूलाठूला सपना देखाए, ठूलाठूला बाचा गरे । ती बाचाहरु कहाँ गए ? माडी क्षेत्रमा मानव वन्यजन्तुबीचको द्वन्द हटाउन निकुञ्जमा आकाशे पुलको सपना देखाइएको थियो । खोई कहाँ छ आकाशे पुल ? यहाँ ‘जङ्गलबाद’बाट मानिसहरुलाई बचाउन मुस्किल परेको छ ।’
लामिछानेले चितवनबाट चुनाव लड्ने इच्छाको ढोका बन्द नभएको समेत बताएका । यस क्षेत्रमा आफ्नो मत सुरक्षित रहेको भन्दै मतपत्र जोगाउने चुनौती थपिएको उनले बताए । ‘मत कसरी सुरक्षित हुन्छ वा हुँदैन भन्ने कुरा घामजस्तै छर्लङ्ग भएको छ । मतपत्र कसरी जोगाउने भन्ने चुनौती कसैमाझ लुकेको छैन् ।’ उनले भने, ‘जनताले दिएको मत साटेर जीत्नेहरु शानले साइरन बझाउँदै हिँडेको देखेका छौँ ।’
पार्टी अध्यक्ष लामिछानेले आफुँ जहाँ जस्तोसुकै अवस्थामा भए पनि आफुँले गरेको बाचा पुरा गर्ने बताए । उनले भने, ‘हिजो म अन्यायमा पर्दा मलाई यो ठाउँले न्याय दिएको हो । मैले जनतासँग गरेको बाचा बिर्सिने छैन ।’
लामिछानेले विगतमा चितवनले लगाएको गुन स्मरण गर्दै यहाँका जनतालाई व्याज सहित अशुल गरी जनताको मुहारमा हाँसो ल्याउने बाचा समेत गरे ।
यसअघि सोही कार्यक्रमबाटै उनले चितवन क्षेत्र नं. ३ का लागि उम्मेदवारी घोषणा गर्ने भनिएपनि उनले आफ्नो उम्मेदवारी घोषणा भने गरेनन । माडीले सहयोग गरेमात्रै आफू उम्मेदवार बन्ने उनको भनाई थियो ।