चितवन । चितवनको व्यस्त बजार नारायणगढमा यतिबेला चहलपहल बढेको छ । हिन्दुहरुको महान चार्ड दशैँले छोपिसक्दा बजारमा चहलपहल बढे पनि व्यापार नबढेको व्यवसायीहरुले गुनासो गरेका छन् ।
नवदुर्गा सुरु भएसँगै बजारमा सर्वसाधारणको आगमन बढे पनि व्यापारले खासै लय नलिएको नारायणगढको हंकङबजारस्थित सिद्धार्थ इम्पोरियरका सञ्चालक विष्णु कर्माचार्यले बताए । ‘विगतका वर्षमा जस्तो व्यापार छैन । मानिसहरुको भिडभाड बढ्ने क्रम त बढिरहेकै छ । तर, कपडा किन्न आउने ग्राहक भने एकदमै न्यून छन ।’ उनले भने ‘अघिल्ला वर्षहरुमा कोरोनाको असर नै भएपनि चाडपर्वका बेला भने व्यापार राम्रो थियो । यसपट ५० प्रतिशत पनि व्यापार हुन गाह्रो छ ।’
दुई वर्षदेखि सोही ठाउँमा फेन्सी व्यवसाय सञ्चालन गर्दै आएका कर्माचार्यले विगतका वर्षमा कोरोनाका कारण केही समय व्यवसाय बन्द नै गर्नुपरेपनि चाडपर्वमा पसल खोल्दा व्यापार सोचेअनुसारको भएको बताए । तर, यस वर्ष भने बजार नियमित सञ्चालन हुँदा समेत कारोबार बढ्न नसकेको उनको भनाई छ । उनी भन्छन्, ‘अघिल्ला वर्षहरुमा दशैँको समयमा मात्रै तीन जना सहयोगीलाई काम गर्न भ्याई–नभ्याई हुन्थ्यो । अहिले १ जानालाई पनि काम पुग्न मुस्किल छ ।’
मिलनरोडस्थित महाकालेश्वर जनरल सप्लायर्सका सञ्चालक सुरज सिटौला पनि व्यापार नबढेको भन्दै चिन्तामा परेका छन् । भाँडा पसलमा सबैभन्दा बढी कारोबार चाडपर्वमा हुने भए पनि यसपटक भने व्यापार निराशाजनक भएको उनको भनाई छ । उनी भन्छन्,‘स्थानीय चुनावपछि खासै व्यापार बढेको छैन । दशैँ तिहार हाम्रो व्यापारको मूख्य सिजन हो । यही सिजनमै व्यापार बढ्ने आश थियो । अब भने तिहारमा हुन्छ की भन्ने आशा छ ।’
दशैँको समयमा सुनचाँदी बजार पनि सुस्त रहेको मिलनरोडस्थित पाथिभरा सुनचाँदी पसलका सञ्चालक तथा सुनचाँदी व्यवसायी संघ चितवनका सल्लाहकार बाबुराम रामुदामु बताउँछन् । ‘नवदुर्गामा विवाहका लगन पर्ने भएका कारण यस समयमा विवाहका लागि गहना तयार गर्न भ्याइ–नभ्याइ हुन्थ्यो ।’ उनी भन्छन्, ‘दशैँ र विवाहको सिजन नै भएपनि व्यापार सुस्त छ ।’
आर्थिक मन्दीका कारण उपभोक्तासँग पैसा छैन । व्यवसायीले पनि लगानी थप गर्न सकेका छैनन् । त्यसमाथि पनि अत्यावश्यक काम बाहेक सुन खरिद गर्ने ग्राहक न्यून रहेको रामुदामुको भनाइ छ ।