चितवन । चितवनको कालिका नगरपालिका वडा नम्बर ७ मा पर्छ दलित सुकुम्बासी बस्ती । २०७२ सालमा त्यो बस्तीलाई भुकम्प पश्चात् चितवनको काउलेबाट त्यहाँ राखिएको हो । तल्कालिन चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी मानबहादुर बिकले त्यो बस्तीलाई जुटपानी चोकमा रहेको बसपार्कको जग्गामा राखेका हुन् ।
त्यसबेला २४ घरपरिवारलाई व्यवस्थापन गर्ने बाचा दिएर त्यस ठाँउमा ल्याइएको थियो । अहिले त्यँहा ३० घरपरिवार छन् ।
त्यसबेला कालिका नगरपालिका थिएन गाविस थियो । २०७४ सालमा कालिका गाविसबाट नगरपालिका बन्यो । साविकको कालिका ८ मा रहेको बस्ती त्यस पश्चात् ७ बन्यो । स्थानिय निर्वाचनको मुख्मा कालिका नगरपालिका तीन ठूला राजनीतिक दलको चुनावी नारामा सो वस्तीको राम्रो व्यवस्थापन हुने बुँदा उल्लेख भए । उमेदवारहरु बस्ती छिरे भोट मागे, निर्वाचित भए । कालिका नगरपालिकाले पहिलो मेयर पायो अनि बस्तीले आश । तर, ती सबै बेकार भए । स्थानीय सरकारको पाँच बर्षको समय दलित सुकुम्बासी बस्तीकालागि बालुवामा पानी भयो । केही व्यवस्थापन भएन ।
फेरी दोस्रो स्थानीय निर्वाचनमा उही कथा दोहोरीएको छ । कालिकाले दोस्रो मेयर पाएको छ अनि बस्तीले आश । अब पनि केही होला बस्ती व्यवस्थापनमा भन्ने आश नरहेको त्यस बस्तीका सुकुम्बासी बताउँछन् ।
सुकुमबासी बस्तीका अगुवा बलबहादुर बिकले स्थानीय सरकारदेखि संघीय सरकारसम्म दलित सुकुमबासी बस्तीको मुद्दामा जानकार रहेको बताए । बिकका अनुसार सबै तह सबै सरकार जानकार छन् तर, चासो कसैले दिँदैनन् ।
दलित सुकुम्बासी बस्तीका मानिसले धेरै आश केही गरेका छैनन् । उनीहरु आफनो उचित व्यवस्थापन चाहान्छन्
‘दलित सुकुम्बासी बस्तीका मानिसले धेरै आश केही गरेका छैनन् । उनीहरु आफनो उचित व्यवस्थापन चाहान्छन्’ बिकले भने । बिकका अनुसार बिजुली र खानेपानीको चाहीँ बस्तीमा समस्या छैन । तर, अरु सबैमा छ ।
अव्यवस्थित बस्ती आफैमा समस्या हो । बिकले आफुहरुको बस्तीमा जुनबेला जेपनि हुन सक्ने बताए । उनले भने ‘काठमाडौँका मेयर बालेन शाहलाई हेर्नु अव्यवस्थति बस्ती भत्काई रहनु भएको छ । त्यही कारण हाम्रो बस्ती पनि जोखिममा छ । यदी भत्काइयो भने कहाँ जाने ? सरकारले छिटो समस्या समाधान गरोस् ।’
बस्तीमा ३० घरकालागि ८ शौचालय छन् । लाइन लागेर प्रयोग गर्नुपर्छ । साँघुरो २ कोठाको घरमा ८ देखि १८ जनाको परिवार बस्नु पर्ने बाध्यता छ । खानकोलागि एक छाक खाएर छाक टार्नुपर्ने बाध्यता छ । नजिकिँदो दशैँले पनि बस्तीलाई हेरेर जिस्काइरहेको छ । चाडपर्व खल्लो छ ।
अब फेरी चुनाव आयो । त्यस दलीत सुकुम्बासी बस्तीको मुद्दा समाधान गर्ने भन्दै चुनावी नारा बन्लान् । तर, समाधान ?