काठमाडौं । एभरेष्ट बैंकले ई–पैचोफोन लोन सुविधा सुरू गरेको छ।
उक्त सुविधा सुरू भएसँगै ग्राहकहरूले मोबाइल एप ‘इबिएल टच २४’ मार्फत बिनाधीतो दुई लाखसम्म कर्जा प्राप्त गर्न सक्नेछन्। ई–पैचो फोन लोन विभिन्न समयको किस्ताबन्दीमा भुक्तानी गर्न सकिन्छ।
यस योजनामा एक महिनाभित्र वा तीन, छ र नौ अथवा १२ महिनाको लागि किस्ताबन्दीमा चुक्ता गर्न सकिने सुविधा भएको बैंकले बताएको छ। यसमा ग्राहकहरूको योग्यता मापनमा विभिन्न प्यारामिटरहरुको प्रयोग गरिएको छ।
बैंकबाट गरिएका कारोबार, बैंकमा तलब खाता खोलेको छ या छैन, बक्यौता ऋण लिएको छ या छैन लगायतका प्यारामिटरको प्रयोग गरिएको छ।
बैंकका अनुसार यसमा आफूले लिएको कर्जा चाँडै तिर्न चाहने ग्राहकको लागि ऋणको बक्यौता सहित पूर्व भुक्तानीको विकल्प पनि उपलब्ध छ।
ई–पैचो फोन लोनकालागि योग्य ग्राहकहरूले कुनै पनि फोनपे मर्चेन्टमा क्युआर भुक्तानी गर्दा ‘बाइ नाओ पे लेटर’ सुविधा प्रयोग गर्न सक्ने बताइएको छ।
यी सेवाहरू लिनका लागि ग्राहकले प्रमाणित इमेल ठेगानाको साथै ई–पैचो फोन लोनमा दर्ता गर्नु पर्नेछ।
ई–पैचो फोन लोनका लागि विभिन्न मापदण्डको आधारमा योग्यता निर्धारण गरी स्वचालित रूपमा कर्जा पाइन्छ।
जस्तै तलब खाता, नियमित कारोबार, बैंकसँग कुनै वक्यौता वा ऋण नभएको जस्ता मापदण्ड रहेका छन्।
योग्य मानिएका ग्राहकहरूको मोबाइल एपमा ई–पैचो लोन फोन आइकन आउने छ र त्यहाँ दिइएको रजिष्ट्रर बटनमा क्लिक गरी रजिष्ट्रर गरेपछि इमेल प्रमाणिकरण गर्नुपर्ने हुन्छ।
इमेल प्रमाणिकरण भएसँगै ग्राहकले रियल टाइममै बीनाधीतो कर्जा लिन सक्नेछन्।
बैंकका रिटेल एण्ड एसएमइ क्रेडिट प्रमुख विष्णु ज्ञवालीले भने ‘नेपालमा कर्जा पाउनु निकै कठिन छ। कर्जाको सरल पहुँच बढाउन हामीले योग्य ग्राहकहरूलाई ई–पैचो फोन लोनमार्फत कर्जा उपलब्ध गराउन लागेका छौँ। ग्राहकहरूले मात्रै खाता सन्तुलनमा राखी कारोबार गर्नुपर्ने छ बाँकी सबै काम हामीले गर्ने छौँ।’
देशभर ३९ हजार १६७ डेलिभरी च्यानल, १० हजार ९८ आन्तरिक शाखा भएको बैंकसँग १५ हजार ७१९ व्यापारिक घराना आवद्ध रहेका छन्।
यसका साथै बैंकका २ अन्तर्राष्ट्रिय शाखा र देशभर १३ हजार ३५० एटिएम बुथ रहेका छन्।