काठमाडौं । नेपाली क्रिकेट टोलीले ओमानमा पपुवा न्युगिनी (पीएनजी) सँग ५० ओभरको खेल खेल्ने तयारी गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले पीएनजीसँगको खेलका लागि अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट अनुमति मागेको बताए । उनले अनुमति आउने बित्तिकै नेपालले खेल खेल्ने बताए ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले पीएनजीसँग दुई खेल खेल्ने तयारी गरेकाे हाे ।
“खेलमा लागि हामीले तयारी गरेका छौँ । आईसीसीसँग अनुमतिका लागि अनुरोध गरेका छौँ । पीएनजी नेपालसँग खेल्न राजी भइसकेको छ । ओमानमा पीएनजीसँगको खेलका लागि छलफल भइरहेको छ । अनुमति आउने बित्तिकै खेल हुनेछ,” दाशले बाह्रखरीसँगको कुराकानीमा भने ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आगामी सेप्टेम्बरमा ओमान र अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । उक्त सिरिज ओमानमा हुने तय भइसकेको छ ।
सिरिजका लागि नेपालले बिहीबारबाट प्रशिक्षण सुरु गरेको छ । क्यानले सिरिजका लागि १९ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ । लिगमा नेपालले ४ खेलमा ४ अङ्क जोडेको छ ।
नेपाल छैटौँ स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।