चितवन । नेपालको आकर्षक पर्यटकीय गन्तव्यको रुपमा चिनिएको चितवनको सौराहामा पछिल्लो समय पर्यटक घटेका छन् ।
चितवन भन्नेवित्तिकै पर्यटकको नजरमा पर्नेे सौराहामा विभिन्न समस्याका कारण यहाँ घुम्न आउने पर्यटक घटेका हुन् ।
विगत तीन वर्षदेखि कोरोनाले थला पारेको पर्यटन व्यवसाय उठ्न नसक्दा पर्यटन व्यवसायी समेत समस्यामा परेका छन् । कहिले कोरोना महामारी, कहिले बाढी त कहिले डेङ्गु जस्ता समस्याले यस क्षेत्रलाई प्रत्यक्ष रुपमा असर पारेको छ ।
विगतका वर्षमा नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि उल्लेखनीय योगदान दिन नसक्दा सौराहामा पर्यटकको आकर्षण कम हुँदै गएको नगरप्रमुख प्रलाद सापकोटा बताउँछन् ।
‘रत्ननगरमा पर्यटन पूर्वाधार तथा नयाँ संरचना निर्माण हुन नसक्दा अहिले यहाँ आउने पर्यटक पश्चिम चितवनतर्फ आकर्षित हुन थालेका छन् ।’ उनले भने, ‘म आफ्नो कार्यकालमा पर्यटकलाई सौराहा जान पाए हुन्थ्यो भन्ने महशुस गराउनेछु ।’
नगरप्रमुख सापकोटाले आफ्नो कार्यकालमा नगरक्षेत्रलाई पर्यापर्यटनबाट आत्मनिर्भर बनाउन प्रथामिकतामा राखेर काम गर्ने बताए । ‘रत्ननगरमा पर्यटन पूर्वाधार तथा नयाँ संरचना निर्माण हुन नसक्दा अहिले यहाँ आउने पर्यटक पश्चिम चितवनतर्फ आकर्षित हुन थालेका छन् ।’ उनले भने, ‘म आफ्नो कार्यकालमा पर्यटकलाई सौराहा जान पाए हुन्थ्यो भन्ने महशुस गराउनेछु ।’
यसअघि स्थानीय सरकारले पर्यापर्यटनमा ध्यान नदिएका कारण नगर क्षेत्रमा पर्यटको आकर्षण घटेको उनको भनाइ छ । उनी भन्छन्, ‘रत्ननगरलाई प्रकृतिले दिएका उपहार स्थानीय सरकारले चिन्न सकेको थिएन । अबको पाँच वर्ष भित्रमा नगरक्षेत्रमा प्रकृतिले दिएका सुन्दर उपहारलाई त्यो भन्दा पनि अझै सुन्दर र आकर्षक बनाई धेरैभन्दा धेरै आन्तरिक र बाह्य पर्यटक भित्र्याउन पहल गर्नेछु ।’
नगरप्रमुख सापकोटाले सौराहा र पेरीफेरीको वातावरणलाई आधुनिकतासँगै विगतको भन्दा फरक ढङ्गले अगाडी बढाउने योजना रहेको बताए । नगरपालिकामा पर्यटन विज्ञहरु मनोनयन गरी पर्यटक भित्र्याउन र पर्यटकीय संरचना निर्माण गर्ने योजना रहेको सुनाए । पर्यटनका क्षेत्रलाई मूल आधार बनाई नगरपालिकाले व्यापक रुपमा संरचना विस्तार गर्नेे सापकोटाको भनाई छ ।
रत्ननगरको झुवानीमा वाटर किङडम निर्माण, चित्रसारीदेखि सौराहा बगरको बाटोमा आधुनिक साइकल लेन, टिकौली पुल नजिकैको तालमा बोटिङ, चित्रसारी पुलमा ४ लेनको बाटो निर्माणका लागि नगरपालिकाले गृहकार्य गरिरहेको नगर प्रमुख सापकोटा बताउँछन् ।
चितवन राष्ट्रिय निकुञ्जको प्रमुख प्रवेशद्वार रहेको सौराहाको मूख्य आकर्षण वन्यजन्तु हो । आन्तरिक तथा बाह्य पर्यटक वन्यजन्तु अवलोकनका लागि आउने गर्दछन् । पर्यटकले विशेषगरी यहाँ बाघ, गैँडा, गोही हेर्न तथा सामुदायिक वनमा हात्ती सफारी, जिप सफारी, डुङ्गा सयर गर्न पाउनुका साथै हात्ती स्नान, टावरमा रात्रिकालीन बास बस्न रुचाउँछन् । तर, मानव र वन्यजन्तुबीचको द्वन्द हुने त्रासका कारण पर्यटकले सोचेजस्तो मनोरञ्जन लिन नपाएको नगर प्रमुख सापकोटा बताउँछन् ।
निकुञ्जको एरियासँग जोडिएका स्थानमा पर्यटन व्यवसायीलाई असर परेको आफुलाई महसुश हुँदाहुँदै पनि निकुञ्जको अनुमतिबिना नगरपालिकाले यस विषयमा केही गर्न नसकेको उनको भनाई छ । ‘स्थानीय, केन्द्र र प्रदेश सरकारको आ–आफ्नै कानुन छ । हामिले कानुनबिना चाहेर पनि छिटोभन्दा छिटो काम गर्न सकिरहेका छैनौँ ।’
यता, पर्यटन व्यवसायीले भने विगतका तीन वर्षदेखि थलिएको पर्यटन व्यवसायलाई उकास्न व्यवसायीलाई कर छुट लगायतका अन्य सहुलियत दिनुपर्ने बताउँछन् ।
महामारी तथा विपद्का कारण देश नै थलिइरहेको अवस्थामा पर्यटन व्यवसायमा धक्का पुग्दा स्थानीय सरकारले व्यवसायप्रिति अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने पर्यटन व्यवसायी बद्री अधिकारीको भनाई छ । उनले भने, ‘लामो समयसम्म महामारी र प्राकृतिक विपत्तिजस्ता भैपरी आउने समस्याका कारण व्यवसाय बन्द गर्नुपर्ने अवस्था आउँछ । त्यस्तो समयमा पर्यटन व्यवसायीले करोडौँको घाटा व्यहोर्नुपरेको अवस्था छ । यसतर्फ राज्यले ध्यान दिएर कर छुट लगायत अन्य सुविधा दिन जरुरी छ ।’ तीन तहकै सरकारबाट पर्यटकीय गन्तव्य बनाउनुपर्ने अधिकारीको भनाई छ ।