चितवन । माडी नगरपालिका पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । जिल्लाको दक्षिणी सिमानामा रहेको यस क्षेत्रमा पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकहरु बढ्न थालेका हुन् ।
यस क्षेत्रमा बैकुण्ठधाम, भारतको सिमानामा रहेको शोमेश्वरगढी, शोमेश्वर कालिका जसले आनतरिक पर्यटकलाई भारत पुगेको अनुभुति गराउँछ । माडीमा पाँचवटा समुदायको होमस्टे सञ्चालनमा छन् । जहाँ बोटे, मगर, थारु, ब्राह्मण र दराइ समुदायको कल्चर पनि पर्यटकको आकर्षण हुन् ।
माडीलाई कृषि क्षेत्रले पनि पर्यटक भित्र्याउन ठूलो भूमिका खेलेको दवाडीको भनाई छ । उनले भने,‘यस क्षेत्रमा कृषिका कारण केही ठाउँहरु हेर्न लायक बनेका छन् ।’
पछिल्लो समय माडीमा कृषि तथा पर्यटकीय गन्तव्य विस्तार भएसँगै माडी आउने पर्यटक बढेको नेपाल होमस्टे महासंघ बागमती प्रदेशका सल्लाहकार तथा माडीका पर्यटन व्यवसायी श्रीप्रसाद दवाडीले बताए । माडीमा विशेषगरी अयोध्या धाम थपिएसँगै देशभरका पर्यटक धार्मिक स्थल भ्रमण गर्ने पर्यटको आकर्षण रहेको उनले बताए ।
माडीलाई कृषि क्षेत्रले पनि पर्यटक भित्र्याउन ठूलो भूमिका खेलेको दवाडीको भनाई छ । उनले भने,‘यस क्षेत्रमा कृषिका कारण केही ठाउँहरु हेर्न लायक बनेका छन् । कृषि क्षेत्रका मानिसहरु भ्रमणका लागि माडी आउने गरेका छन् ।’
नगरक्षेत्रमा पर्यटकीय गन्तव्यको विस्तारसँगै पर्यटकको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य सेवा तथा भौतिक पूर्वाधारको विकास हुन आवश्यक रहेको दवाडी बताउँछन् । उनी भन्छन्, ‘पर्यटकीय गन्तव्यसम्म पुग्नका लागि बाटोको सुविधा र स्वास्थ्य सेवाको व्यवस्था गर्न सके माडीको पर्यटन विकासमा सुनमा सुगन्ध जस्तै हुने थियो ।’
नगरक्षेत्रमा घुम्न आउने पर्यटकलाई जनावरसँगको सुरक्षित अनुभुति गराउन नगरपालिकाले निकुञ्जसँग समन्वय गर्न आवश्यक रहेको दवाडी बताउँछन् । उनी भन्छन, ‘निकुञ्जसँग जोडिएको यस क्षेत्रमा पर्यटकले हेर्ने भनेकै जनावर हो । विशेषगरी शिवद्वार र पाण्डवनगरमा बस्ने पर्यटकले जनावरबाट सुरक्षित भएको महसुस गर्न पाउनुपर्छ ।’
माडी नगरपालिकाले पर्याप्त बजेट छुट्याउन सके पर्यटन क्षेत्रबाटै आत्मनिर्भर बन्न सक्ने दवाडी बताउँछन् । यस वर्ष नगरपालिकाले पर्यटन क्षेत्रका लागि ७५ लाख रुपैयाँ बजेट छुट्टाएको छ । नगर क्षेत्रमा पर्यटकीय क्षेत्र विस्तारका लागि थप संरचना तयार पार्न बजेट पर्याप्त नहुँदा सोचेअनुसार नभएको उनी बताउँछन् । पर्यटनको प्रवल सम्भावना बोकेको यस क्षेत्रमा माडीलाई पर्यटकसँग परिचित सूचना केन्द्र स्थापना गर्नुपर्ने उनको भनाइ छ ।
त्यस्तै, माडी बस्नेगरी चितवन राष्ट्रिय निकुञ्ज हेर्न आउने पर्यटकले निकुञ्जमा सफारी गर्न पाउने व्यवस्था गर्न बबईदेखि बनकट्टासम्मको बाटो खुलाउन उनले आग्रह गरे । ‘निकुञ्जले उक्त रुट खुल्ला गर्ने स्विकृति दिए निकुञ्ज र स्थानीयबीचको द्वन्द समेत सुल्झिन सक्थ्यो ।’ माडीमा पर्यापर्यटनलाई अघि बटाउन बाह्य पर्यटकलाई माडी पस्दा लाग्ने रोयल्टी छुट दिनुपर्ने उनको भनाइ छ ।