चितवन । चितवनमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन नारायणगढले असोज १ गते (शनिबार) देखि सुपथ पसल सुरु गरेको हो ।
साल्ट ट्रेडिङ कर्पोरेशन नारायणगढका प्रमुख बुद्धिविनोद दाहालले दशैँ, तिहार र छठका उपलक्ष्यमा खाद्यान्न बजारमा हुनसक्ने कालाबजारी नियन्त्रण गर्न सस्तो पसल सञ्चालनमा ल्याएकोे बताए ।
उपभोक्ताले सुपथ पसलबाट दैनिक उपभोग्य सामानहरु आवश्यकता अनुसार किन्न सक्नेछन् । साल्ट ट्रेडिङमा कुनै सामान बजार मूल्यभन्दा महंगो पनि पर्न सक्ने दाहाल बताउँछन् ।
‘स्थानीय तथा लोकल उत्पादनहरु साल्ट ट्रेडिङमा भन्दा बजार मूल्य सस्तो हुन सक्छ । हामिले सुपथ मूल्य सञ्चालन गर्नुको मूख्य उद्देश्य नै बजार मूल्य नियन्त्रण गर्ने र उपभोक्ताको गुणस्तरीय सामान विक्री गर्नु हो ।’ दाहाल भन्छन्, ‘साल्ट ट्रेडिङमै सबै सस्तो हुन्छ भन्ने हुँदैन । उपभोक्ताले आफु मारमा नपर्ने गरी बुझेर जहाँबाट पनि उपभोग गर्न सक्नुहुनेछ । चाडपर्वका बेला हुने बढ्दो कालाबजारी नियन्त्रण गर्न दैनिक उपभोग्य वस्तुको मूल्यबारे उपभोक्ता जानकार हुन जरुरी छ ।’
यस पसलले ग्राहकका लागि अत्यावश्यक खाद्यवस्तु एकैथलोबाट सहुलियतरुपमा उपलब्ध गराउने भएकाले उपभोक्ता तथा विक्रेता दुवै पक्षलाई लाभ मिल्ने उनको विश्वास छ ।
पसलमा खाने तेलमा सात रुपैयाँ छुट दिइएको छ । जसअनुसार सेफ सनफ्लावर तेल प्रतिलिटर २८५ रुपैयाँ र त्रिप्ती तोरी तेल प्रति लिटर २७५ रुपैयाँ कायम गरिएको छ । नुनको मूल्यमा प्रति किलो २ रुपैयाँ छुट दिइ प्रति किलो १८ रुपैयाँ कायम गरिएको छ ।
यस पसलले ग्राहकका लागि अत्यावश्यक खाद्यवस्तु एकैथलोबाट सहुलियतरुपमा उपलब्ध गराउने भएकाले उपभोक्ता तथा विक्रेता दुवै पक्षलाई लाभ मिल्ने उनको विश्वास छ ।
चिउरा प्रतिकिलो ४ रुपैयाँ कम रहेको छ । त्यस्तै, चामल, दाल, पिठोमा गेडागुडी, दाल, आटा, साबुन, सरफ, मसला लगायतका सामानमा ५ रुपैयाँ कम हुने दाहालले बताए ।
यस वर्ष सहुलियत पसलमा माइतिघर ब्राण्ड, मंगलम र भान्साघर गरी ३ किसिमका चामल उपलब्ध छन् । जसमध्ये भान्साघर ५ किलोको ७७० रुपैयाँ, माइतिघर २५ किलोको १ हजार ८४५ रुपैयाँ र मंगलम २५ किलोको १ हजार ९३५ रुपैयाँ रहेको छ ।
त्यस्तै, गेडागुडीतर्फ प्रतिकिलो चना १०५ रुपैयाँ, हरियो केराउे १२० रुपैयाँ र काबुलि चना १८० रुपैयाँ रहेको दाहालले बताए ।
किराना व्यवसायी संघ चितवले भने तेलको मूल्य कम रहेको बताएको छ ।
किराना व्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष रविन्द्रकुमार श्रेष्ठले बजारमा साल्ट ट्रेडिङ कर्पोरेशनको तुलनामा केही कम भएको बताएका छन् ।
श्रेष्ठका अनुसार बजारमा तोरी र सनफ्लावर तेलको मूल्य प्रतिलितर २६० रुपैयाँ र भट्टमास तेल प्रतिलिटर २५० कारोबार भएको छ । गेडागुडी साल्ट ट्रेडिङकै मूल्य बराबरमा कारोबार भएको उनको भनाइ छ । उनले भने, ‘किराना व्यवसायी संघले आजसम्म यो रेटमा कारोबार गरेपनि दशैँ तिहार लक्षित छुट दिन एक दुई दिनमा नयाँ रेट कायम गर्ने तयारीमा छ ।’