चितवन । चितवनका दुग्ध उत्पादक कृषकले बाहिरबाट हुने दुधको आयात रोक्न माग गरेका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनले मंगलबार भरतपुरमा पत्रकार सम्मेलन गरी दुध आयात रोक्न सरकारसँग माग गरेको हो ।
विगतमा दुध आयातमा प्रतिबन्ध लगाएको सरकारले अहिले १ लाख २० हजार लिटर दुध आयात गर्ने अनुमति दिएको भन्दै कृषक आक्रोषित बनेका हुन् ।
जिल्लामा ६८ हजार ६११ वटा दुधालु गाइ भैँसी छन् । चितवनमा दैनिक ३ लाख ५० हजार लिटर दुध उत्पादन हुन्छ । कुल उत्पादित दुध मध्ये ४५ प्रतिशत काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, कास्की लगायतका जिल्लामा निर्यात हुने गर्छ ।
यसरी पछिल्लो समय चितवन दुधमा आत्मनिर्भर भइरहँदा सरकारले किसानलाई प्रोत्साहन गर्नुको सट्टा बाहिरी दुध आयातमा अनुमति दिँदा दुग्ध उत्पादक कृषक व्यवसायबाटै पलायन हुनुपर्ने बाध्यता आउन सक्ने संघका अध्यक्ष रत्नमणी न्यौपानेले बताए ।
न्यौपानेले किसानको पैसासमेत नदिएर डेरी व्यवसायीहरुले विदेशी दुध आयात गर्न लागेको बताए ।
त्यस्तै संघका जिल्ला सचिव किशोर बगालेले दुध आयातले किसानलाई मार परेको बताए । उनले भने, ‘व्यवसायी र सरकारले किसानमारा कदम चाले, यसले कृषकलाई मार परेको छ ।’ बगालेले आयात नरोकिए बाध्य भएर दुध नारायणीमा मिसाएर आन्दोलनको सुरुवात गर्ने बताए ।
केन्द्रिय दुग्ध उत्पादक सहकारी संघले समेत किसानमाथि अन्याय गरेकोले बगाले बताउँछन् । पत्रकार सम्मेलनमा उनले केन्द्रिय दुग्ध उत्पादक सहकारी संघको दोहोरो चरित्रको समेत विरोध गरे ।