चितवन । भरतपुर महानगरपालिकाले निःशूल्क तालिमका लागि आवेदन माग गरेको छ । आवेदन यही असोज २९ गतेसम्म दिइसक्नु पर्ने महानगरद्धारा प्रकाशित सुचनामा भनिएको छ ।
आवेदन दिनका लागि भरतपुर महानगरपालिकाभित्र बसोबास गर्ने, कम्तीमा आठ कक्षा उर्तिण, १८ वर्ष पुरा गरी ४० वर्ष नपुगेका व्यक्तिले भरतपुर महानगरपालिका तथा सहकारी प्रवर्द्धन शाखामा सम्पर्क गर्नुपर्ने छ
आवेदन फारम भरतपुर महानगरपालिकाको वेवसाइट www.bharatpurmun.gov.np बाट डाउनलोड गर्न सकिने छ ।
भरतपुर महानगरपालिकाको आर्थिक वर्ष २०७९र०८० को सहकारी कार्यक्रम तथा प्रवर्द्धन नीति तथा कार्यक्रम बमोजिम सैलुन प्लम्बर, इलेक्ट्रिसियन, ड्राईभिङ र मागमा आधारित मेयर उद्यमशीलता तालिम उपलब्ध छन् ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले मागका आधारमा न्युनतम ६ महिनाको निःशुल्क तालिम प्रदान गर्न लागिएको जानकारी दिनुभएको छ । युवाले इच्छा गरे अनुरुप महानगरपालिकाले प्राविधिक तालिम दिइने उहाँको भनाई छ ।
मेयर दाहालले रोजगारी प्रर्वद्धन गर्ने स्थानीय सरकारको दायित्व भएकाले बढीभन्दा बढी रोजगारी प्रर्वद्धन गर्ने उद्देश्यले तालिम दिन लागिएको उल्लेख गर्नुभयो । मेयर दाहालले भरतपुर महानगरपालिकामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला, सिटीहल निर्माण सम्पन्न भएसँगै ठुलौ संख्यामा रोजगारी सिर्जना हुने बताउनुभयो ।
महानगरपालिकाले यस वर्ष दुई हजार जना युवालाई निःशूल्क तालिम प्रदान गर्ने लक्ष्य लिएको छ । महानगरपालिकाले यो आर्थिक वर्षमा युवाहरुलाई लक्षित गरी दक्ष जनशक्ति उत्पादन र रोजगारी प्रर्वद्धन गर्न एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।