चितवन । पूर्वी चितवन स्पोर्टस क्लवको आयोजनामा आजदेखि रत्ननगर–३ बेल्सीमा रहेको कवर्डहलमा प्रथम मेयर कप तथा तेस्रो राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता– २०७९ सुरु भएको छ ।
“राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” भन्ने नाराका साथ प्रतियोगिता यही असोज १ देखि ३ गतेसम्म सञ्चालन हुने भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि रहेका रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटाले प्रतियोगिताको उद्घाटन गरे । मेयर सापकोटाले खेलकुद स्वास्थ्यको लागि महत्वपूर्ण पाटो भएकाले स्वस्थ रहनको लागि खेलकुद निकै आवश्यक रहेको बताए । व्याडमिन्टन खेल सबैको लोकप्रिय खेल हुन सफल भएको उनको भनाई छ ।
प्रतियोगिताको उद्घाटन खेलमा ईलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी रविनबाबु रेग्मी र ईलाका प्रहरी कार्यालय भण्डाराका एसपी सुधिर सुवेदीलाई हराउँदै मेयर सापकोटा र वागमती प्रदेशका ट्राफिक प्रमुख रविन पौडेलको टिम बिजयी भएको छ ।
तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल अधिराज्यभरका ३ सय टिमको सहभागिता रहने संयोजक विकास डल्लाकोटीले जानकारी दिए । प्रतियोगिता ४ वटा विद्यामा प्रतिष्प्रधा हुने छ । ‘ए’ खुल्ला तर्फ, ‘बि’ लेवल तर्फ, भेट्रान (४५ वर्ष देखी ५५ वर्ष उमेर) सम्म र सुपर भेट्रानमा ५५ वर्ष भन्दा माथि उमेर समुहहरुको प्रतियोगितामा सहभागिता रहने उनले जानकारी दिए ।
‘ए’ खुल्ला तर्फ प्रथम हुनेले रु ५१ हजार, द्धितिय हुनेले रु २५ हजार र तृतीय हुनेले रु १२ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
‘बि’ लेवल तर्फ प्रथम हुनेले रु ३१ हजार, द्धितिय हुनेले रु १५ हजार र तृतीय हुनेले रु ७ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
भेट्रान (४५ वर्ष देखी ५५ वर्ष) सम्म तर्फ प्रथम हुनेले रु ३१ हजार, द्धितिय हुनेले रु १५ हजार र तृतीय हुनेले रु ७ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै, सुपर भेट्रान ५५ वर्ष भन्दा उमेर समुह तर्फ प्रथम हुनेले रु २० हजार, द्धितिय हुनेले रु १० हजार र तृतीय हुनेले दुई वटा टिमले रु ५÷५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक डल्लाकोटीले बताए ।
स्पोर्टस क्लवका अध्यक्ष केवल न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रत्ननगर नगरपालिकाका उपमेयर यादव प्रसाद पाठक, राष्ट्रिय खेलकुद मन्त्रालयका उपसचिव दशरथ बुढा, क्लवका संयोजक विकास डल्लाकोटी, जिल्ला समन्वय समिति चितवनका सदस्य सन्जीव पौडेल लगायतको उपस्थिती थियो ।