चितवन । जिल्लामा चाड पर्व लक्षित सुरक्षा योजना लागू गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले चाडबाड र चुनाव लक्षित सुरक्षा योजना बनाएर कार्यान्वयनमा ल्याएको हो ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनाव एवं दसैँ, तिहार लक्षित गरी सुरक्षा योजना बनाइएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । अन्य समयमा पनि सुरक्षा कायममा कुनै कमी नभएको तर चाडबाडमा मानिसको आवतजावत र भीडभाड बढी हुने भएकाले थप सुरक्षा सतर्कता बढाइएको उहाँले जानकारी दिनुभयोे ।
विगतका वर्षमा जस्तो यो वर्ष चाडपर्वको समयमा हुने अपराध नियन्त्रणले मात्रै नपुग्ने उहाँले बताउनुभयो । निर्वाचनको समय नजिकिँदै गएकाले निर्वाचनमा सो समयमा हुनसक्ने आपराधिक गतिविधिलाई समेत मध्यनजर गर्दै सुरक्षा योजना बनाइएको उहाँले जानकारी दिनुभयो ।
बढ्दो अपराधका प्रवृत्तिबारे हरेक गाउँटोलमा स्थानीय प्रहरीको सहकार्यमा सचेतनाको कार्यक्रम लैजाने तयारीमा कार्यालय रहेको छ । चितवनका मुख्य बजार क्षेत्र र आपराधिक हिसाबले जोखिम क्षेत्रमा प्रहरीले गस्तीलाई प्राथमिकता दिएको छ । राजनीतिकर्मीले पनि चाडबाडको अवसर पारेर चुनावी गतिविधि बढाउने भएकाले यसपटक चुनावसम्मका लागि योजना बनाइएको अधिकारीको भनाइ छ । चाडपर्वसँगै निर्वाचन लक्षित गतिविधिमा हुने घटना नियन्त्रणका लागि जिल्लामा छ सय प्रहरी परिचालन गर्न लागिएको छ ।
रात्रिकालीन सवारीमा आवश्यकताअनुसार सादा पोसाक र हतियारसहितका प्रहरी परिचालन गरिने उहाँले जानकारी दिनुभयो । चाडबाडको समयमा बैंक तथा वित्तीय क्षेत्र र भीडभाड हुने स्थानमा आर्थिक अपराध हुने गरेको भन्दै यस क्षेत्रमा सादा पोसाकमा प्रहरी खटाइएको छ । त्यस्तै, सुनचाँदी पसल केन्द्रित गरेर सुुरक्षा प्रदान गरिएको छ । सादा पोसाकमा हुने प्रहरीले रेकी गर्ने र कुनै स्थानमा घटना भएमा तत्काल प्रहरी परिचालनका लागि क्युआरटी क्विक रेस्पोन्स टिम नै बनाएर काम गरिएको उहाँले बताउनुभयो ।
चितवन प्रहरीले चाडबाडको समयमा हुने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिक प्रहरीको समन्वयमा मुख्य र भित्री सडकमा आवश्यक मात्रामा सुरक्षा जनशक्ति खटाइने, मादक पदार्थ सेवन, अत्यधिक यात्रु सवारलगायत कारणले चाडबाडको समयमा बढी दुर्घटना हुने गरेको भन्दै विशेष ध्यान दिइएको छ ।
चाडपर्वको समयमा यात्रुलाई पर्न सक्ने समस्यालाई मध्यनजर गर्दै जिल्लाका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिने अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “केन्द्रीय बस ट्रमिनल, पुलचोक, पोखरा बसपार्क र मुग्लिनमा यात्रु सहायता कक्ष राख्ने तयारी गरिएको छ ।” यस पटक चाडपर्व सुरक्षा योजनामा थम जनशक्तिका लागि सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायसँग समेत समन्वय गरिने उहाँले जानकारी दिनुभयो ।