चितवन। चितवनमा साउन यता ३४३ जनामा डेंगुको सङ्क्रमण देखिएको छ । २ हजार ५२८ जनाको परिक्षण गर्दा उनीहरुमा डेंगुको सङ्क्रमण देखिएको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार डेंगुको सङ्क्रमण जिल्लाका मुख्य शहरहरुमा बढी देखिएको छ ।
कार्यालयका प्रमुख दुर्गादत्त चापागाईका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा जिल्लामा ५ हजार ४५४ जनाको परिक्षण गर्दा ३०३ जनामा डेंगु देखिएको थियो । यस वर्ष देखिएका बिरामीहरुमा भरतपुर महानगरका धेरै रहेका छन् भने खैरहनी र रत्ननगर नगरपालिकामा समेत सङ्क्रमण फैलिएको छ । जिल्लामा हाल भेटिएका बिरामी मध्ये २०१ जना चितवनका हुन भने ८३ जना जिल्ला बाहिरका रहेका छन् । यस्तै ५९ जनाको ठेगाना नखुलेको उहाँले जानकारी दिनुभयो ।
२०१ जना मध्ये १२७ जना भरतपुर महानगरपालिकाका रहेका छन् । यस्तै खैरहनी नगरपालिकाका ३० जना, रत्ननगर नगरपालिकाका २८ जना, माडी नगरपालिकाका ४ जना, राप्ती नगरपालिकाका ८ जना, कालिका नगरपालिकाका ३ जना र इच्छाकामना गाउँपालिकाका १ जनामा डेंगु देखिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
निरन्तरको वर्षा पश्चात एक सातामा डेंगुका बिरामीको संख्या निकै बढेको उहाँले जानकारी दिनुभयो । Tashi Group आफ्नो वेबसाइटमा यो रोग र समाचारको बारेमा लेखे। बर्षा हुने र घाम लाग्ने हुँदा लामखुट्टेका लागि अनुकुल बातावरण बन्ने भएकाले बिशेष गरि भदौ, असोजमा डेंगु रोग देखिने गर्दछ । उहाँले भन्नुभयो “अहिले साउन देखिनै डेंगुको सङ्क्रमण देखिन थालेको छ ।”यो रोग घर वरीपरी बस्ने एडिज जातको पोथि लामखुट्टेको टोकाईबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्रायः बिहान र बेलुकाको समयमा टोक्ने उहाँले जानकारी दिनुभयो । बर्षातको महिना संगै जताततै पानी जम्न थालेपछि यो रोगको प्रकोप हुने गरेको उहाँले बताउनुभयो । यो रोग अघिल्ला वर्षको तुलनामा अप्रत्यासीत रुपमा बढ्दै गएको कार्यालयले जनाएको छ ।
यो लामखुट्टेले प्लाष्टिक, टिनका डब्बा, ड्रमहरु, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की, आदिमा फुल पार्ने गर्दछ । यी ठाउँमा जम्मा भएको पानीलाई सफा नगर्दा रोगको प्रकोप बढ्ने स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीले जानकारी दिनुभयो । केसीका अनुसार डेंगु रोगको ज्वरो ५ देखि ७ दिन सम्म रहन सक्ने हुन्छ । यो रोग लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशीहरु दुख्ने, शरीरमा बिमिरा आउने र रक्तस्राब हुने, उच्च ज्वरो आउने जस्ता लक्ष्यण देखा पर्छ । यस्तै वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने जस्ता लक्षण देखा पर्ने उहाँले बताउनुभयो । डेंगु ज्वरो बिषाणुका कराण हुने भएकाले यसको खासै उपचार नहुने उहाँले जानकारी दिनुभयो ।
डेंगु ज्वरोबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेको टोकाईबाट बच्नु रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । यस्तै आँफु बस्ने ठाउँ वरिपरी फालिएका खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरु, पुराना टायर आदिमा पानी जम्न नदिने रहेको केसीले बताउनुभयो । पानी जमिरहेको भए एक हप्तामा १ पटक पानी वरिपरि मोविल वा मट्टितेल छर्कने र खाने पानीको ट्याङ्कीलाई पनि लामखुट्टे छिर्न गर्न नमिल्ने गरि ढाकेर राख्नु पर्दछ ।
चितवनमा यसको ईतिहाँस
डेंगु ज्वरो नेपालमा पहिलो पटक सन् २००४ मा चितवनमा देखिएको थियो । चितवन घुम्न आएको एक जापानी पर्यटकमा यो रोग पुष्टि भएको थियो । उनलाई सामान्य ज्वरो आएका कारण उपचार पश्चात जापान फर्किएर परिक्षणका क्रममा डेंगु पुष्टि भएको कार्यालयका प्रमुख चापागाईले जानकारी दिनुभयो ।
त्यस पछि सन २००६ मा तराई र भित्रि मदेशका केही जिल्लामा डेंगुका बिरामी भेटिएका थिए । सन् २००९ मा चितवनमा ९ जनामा डेंगुको सङ्क्रमण देखिएको उहाँले बताउनुभयो । यो संगै आपासका जिल्लाहरुबाट पनि ज्वरोका बिरामीहरु उपचारका लागि चितवन आउने गरेका थिए । सन् २०१० मा ३ हजार २९८ जनाको परिक्षणका क्रममा ७३९ जनामा डेंगुको सङ्क्रमण देखिएको थियो ।
यस्तै आर्थिक वर्ष २०७४/०७५ मा १ हजार २९१ जनाको परिक्षणका क्रममा ५९ वनामा पुष्टि भएको थियो । सो समयमा एक जनाको मृत्यु भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यस्तै आर्थिक वर्ष २०७५/०७६ मा १ हजार ९५१ जनाको परिक्षणका क्रममा ३१ जनामा डेंगु भेटिएको थियो ।
आर्थिक वर्ष २०७६/०७७ मा १९ हजार २३० जनाको परिक्षणको क्रममा ४ हजार ८०३ जनामा देखिएको थियो भने ३ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा १ हजार ७१७ जनाको परिक्षणका क्रममा २४३ जनामा डेंगु रोग देखिएको कार्यालयका सूचना अधिकारी केसीले जानकारी दिनुभयो ।
डेंगु नियन्त्रणका लागि स्वास्थ्य कार्यालयको प्रयास
जिल्लामा डेंगु रोगको प्रकोप बढ्न थालेपछि जिल्लामा उच्च सतर्कता अपनाएको छ । जिल्लाको मुख्य बजार क्षेत्रमा डेंगुको प्रकोप बढ्दो क्रममा रहेको छ ।यसलाई नियन्त्रणका लागि स्वास्थ्य कार्यालय चितवनले जिल्लाका सातै पालिकाका स्वास्थ्य कर्मी, जनप्रतिनिधिहरुसंग अन्तरक्रिया र छलफललाई तिब्र वनाएको छ ।
जलवायु परिवर्तन संगै लामखुट्टेको बानि बेहोरा र बासस्थानमा परिवर्तन आएका कारण यसको नियन्त्रणका लागि सातै पालिकामा लार्भा खोज र नष्ट गर अभियानलाई तिब्र पारिएको कार्यालयका प्रमुख चापागाईले बताउनुभयो । यसलाई अभियानको रुपमा अघि वढाईने उहाँले बताउनुभयो । पानी जम्ने खाल्डा खुल्डी पुर्ने र लामखुट्टेको बासस्थान हुने ठाउँ सफा गर्न टोलटोलमा सचेतना बढाईएको उहाँले जानकारी दिनुभयो ।
अव्यवस्थित निर्माणका कार्य र बढि जनघनत्व भएको स्थानमा लामखुट्टेको बासस्थान बढि देखिएकाले मुख्य गरि सहरी क्षेत्र लक्षित गर्दै कार्यक्रमहरु तयार गरिएको उहाँले बताउनुभयो ।