चितवन। नेपाल फोटो पत्रकार महासङ्घको दोस्रो केन्द्रीय महाधिवेशन आजदेखि सौराहामा सुरु हुँदैछ । महाधिवेशन तीन दिनसम्म चल्नेछ । महाधिवेशनमा देशभरबाट ६ सय जना प्रतिनिधि एवं पर्यवेक्षक सहभागी हुने जनाइएको छ ।
केन्द्रीय महासचिव हरिप्रसाद रेग्मीले आजदेखि महाधिवेशन हुने भए पनि महाधिवेशन उद्घाटन भने भदौ ३० गते गरिने जानकारी दिनुभयो । देशभरबाट आउने प्रतिनिधि तथा पर्यवेक्षकहरुलाई चितवनको पर्यटकीय स्थलबारे जानकारी गराउने तथा घुम्न प्रेरित गर्दै यहाँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले एक दिनअघि देखि भेला सुरु गरिने रेग्मीको भनाइ छ ।
महाधिवेशन उद्घाटनपछि बन्दसत्र सुरु हुने र अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष गरी एक÷एकजना पदाधिकारीसहित कम्तीमा १७ सदस्यीय केन्द्रीय समिति चयन गरिने रेग्मीको भनाइ छ ।
भदौ ३१ गते नयाँ कार्यसमिति घोषणासँगै सौराहा घोषणपत्र जारी गर्दै महासङ्घको दोस्रो केन्द्रीय महाधिवेशन समापन गरिने रेग्मीले बताउनुभयो । महासङ्घको सातवटै प्रदेश र ७४ वटा जिल्ला समिति रहेको महाधिवेशन मूल समितिका सहसंयोजक कोमलचन्द्र भगतले जानकारी दिनुभयो ।