काठमाडौं । कतारको जनस्वास्थ्य मन्त्रालयले विदेशबाट कतारमा काम गर्न आउने कामदार फिर्ता आउने नियम सोमबार सार्वजनिक गरेको छ ।
नेपाल, बंगलादेश, भारत पाकिस्तान, फिलिपिन्स तथा श्रीलंकाबाट प्रवेश गर्ने यात्रुको हकमा दुईबुँदे नीति बनाइएको छ ।
यो नयाँ नीतिअनुसार कतारमा खोप लगाएका वा कतारमा कोभिड–१९ को रोग लागेर निको भएका कामदार वा यात्रुहरू पुनः कतार फर्कने हो भने होटलको क्वारेन्टिनमा केवल दुई दिनमात्र बस्दा हुने व्यवस्था गरेको छ ।
होटलमा बसेर कोभिड–१९ को परीक्षण गराएर नेगेटिभ आएको खण्डमा आफ्नो गन्तव्य जानसक्ने नियम बनेको छ ।
तर, माथि भनिएका बाहेकका अन्य सबै आगन्तुकले होटलमा १० दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम रहेको छ ।
कतारको जनस्वास्थ्य मन्त्रालयले सोमवार जारी गरेको नियमअनुसार कतार पुग्नुभन्दा बढीमा ७२ घण्टा अघि परीक्षण गरिएको पीसीआर रिपोर्ट नेगेटिभ हुनु अनिवार्य छ ।
त्यस्तै उक्त देश भ्रमण गर्नका लागि चाहिने कागजात पनि डिस्कभर कतारको वेबसाइटमा गएर अनलाइन भरेर जरुरी कागजात डाउनलोड गर्नुपर्नेछ ।
दुवै डोज भ्याक्सिन लगाएको र सो को कार्ड प्रमाण भएको व्यक्तिलाई क्वारेन्टिन नचाहिने तर पीसीआर टेस्ट भने गर्नुपर्ने नियम पनि लागू भएको छ ।
कतारको जनस्वास्थ्य मन्त्रालयले कतार प्रवेश गर्ने पाहुनका लागि देश अनुसार हरियो, पहेंलो र रातो रंगमा वर्गीकरण गरेको छ ।