चितवन । माडीको अमिलिया क्षेत्रमा मानिस खाएको बाघ नियन्त्रणमा लिन प्राविधिक सहितको टोली घटनास्थलमा खटिएको छ।
मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगाना, चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी, पाँच पाण्डव उपभोक्ता समितिका अध्यक्ष नारायण दत्त सापकोटा, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका भेटेरिनरी, प्राविधिक, नेपाली सेना र स्थानीय समुदायको संयुक्त टोली नरभक्षी बाघ नियन्त्रणका लागि माडी २, अमिलिया क्षेत्रमा खटिएको हो ।
गत भदाै २६ गते भैंसी चराउन गएका माडी नगरपालिका वडा नं २ का ६९ बर्षीय सूर्यनाथ अधिकारीलाई बाघले अमिलिया गाउँको काँसघारीमा आक्रमण गरी लुकाएर राखेको थियो। साँझसम्म घर नआएपछि भोलिपल्ट बिहान खोज्न जाँदा बाघले अधिकारीलाइ खाँदै गरेको अबस्थामा स्थानीय ले फेला पारेका थिए।
नरभक्षी बाघ नियन्त्रणमा लिइ कसरामा राख्ने तयारी भएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीको भनाइ छ ।
चितवन राष्ट्रिय निकुञ्ज मा पछिल्लो समय बाघबाट मानवीय क्षति बढ्दै गएको छ। गत आर्थिक वर्षमा निकुन्ज र सामुदायिक वनमा १४ जना र डिभिजन वन क्षेत्रमा दुई जना बाघको आक्रमण बाट मारिएका छन् ।स्वदेश एफएमको सहयोगमा