कैलाली । कैलालीको महोन्याल गाउँपालिका वडा नम्बर ३ राँगा मलेखा स्थित कर्णाली नदिमा डुङ्गा पल्टिदा ३ जना बेपत्ता भएका छन् । महोन्याल गाउँपालिका वडा नम्बर ३ बाट सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर ४ स्थित स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन जाने मानिसहरू चढेको डुङ्गा आज मध्यान्ह १२ बजेतिर पल्टिदा उनीहरू बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा महोन्याल वडा ३ की २० वर्षीया उर्मिला सलामी मगर, उनको १० दिनको बच्चा र २० वर्षिया पार्वती थापा रहेका छन् । सोही ठाउँकी १९ वर्षीया धनसरा सलामी मगर र उनको १ महिनाको छोरा कर्ण सलामी मगर घाइते भएका छन् ।
घाइते मध्ये आमाको अवस्था गम्भीर र छोराको अवस्था सामान्य रहेको उनीहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
डुङ्गामा सवार १० जना मध्ये ५ जनाको सकुशल उद्धार गरिएको र बेपत्ताको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।