जनकपुरधाम । धनुषामा २८ करोड रुपैयाँको लागतमा मल उद्योग स्थापना हुने भएको छ । शनिबार धनुषाधाम नगरपालिका–३ मा जैविक मल उद्योगको शिलान्यास गरिएको हो ।
प्रदेश नम्बर–२ का कृषिमन्त्री शैलेन्द्र साहले शिलान्यास गरेका हुन् । आरोह फर्टिलाइजर प्रालिले उद्योग स्थापना गर्न लागेको हो । एक वर्षभित्रै उत्पादन सुरु गर्ने उद्देश्यका साथ काम अगाडि बढाएको कम्पनीका प्रबन्ध निर्देशक आङकामी लामाले बताए ।
हरेक वर्ष सात हजार ५०० टन जैविक मल उत्पादन गर्ने लक्ष्य राखिएको उनले बताए । “रासायनिक मलले उर्वर जग्गालाई बिगारेको छ । तर, जैविक मलले बिग्रेको जग्गालाई सुधार्ने काम गर्छ,” उनले भने, “रासायनिक मलभन्दा सस्तो पनि हुन्छ ।”
कृषिमन्त्री साहले यहाँ स्थापना हुन लागेको मल उद्योगले प्रदेश–२ का किसानलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे । “देशभर हरेक वर्ष सात लाख मेट्रिक टन मलखाद किसानलाई आवश्यकता पर्छ,” उनले भने, “तर, कुनै वर्षमा पनि तीनदेखि चार लाख मेट्रिक टनभन्दा बढी आयात गरिएको छैन । समयमा किसानले मल नै पाइरहेको अवस्था छैन । त्यसैले प्रदेशमा मल उद्योग स्थापना हुनु खुसीको कुरा हो ।”