चितवन । चितवन ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मतरुपमा प्रत्यक्ष उमेदवारको लागि सिफारिस भएका छन् । ३ नम्बर क्षेत्रीय निर्वाचन परिचालन समिति बैठकले अध्यक्ष प्रचण्डलाई सर्वसम्मतरुपमा चितवन ३ को लागि उम्मेदवार सिफारिस गरेको नेता गोपाल न्यौपानेले जानकारी दिए ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यसअघि प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि चितवन ३ बाट चुनावमा उठ्ने बताएका थिए ।
तत्कालीन नेकपाबाट प्रचण्ड यसअघि ०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । आगामी निर्वाचनका लागि उनको नाम गोरखा–१ बाट पनि सिफारिस भएको छ । प्रचण्डले आफू चितवन–३ बाटै चुनाव लड्ने बताएका छन् ।
बैठकले चितवन–३ अन्तर्गतका दुवै प्रदेशसभाका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम पनि सिफारिस गरेको छ । प्रदेश ३ (क) मा प्रकाश कँडेलसहित तीनजना र ३ (ख) मा गोपाल न्यौपानेसहित आठजनाको नाम सिफारिस भएको छ ।
को हुन् प्रचण्ड ?
नेपाल कम्युनिस्ट पार्टी -नेकपा- का अध्यक्ष प्रचण्ड को जन्म विसं २०११ मंसिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरी गाविस वडा नं २ लेवाडेमा भएको हो। पिता मुक्तिराम र माता भवानीका जेठो छोरा प्रचण्डले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुरपोखरीमै लिएका हुन्। २०२६ चितवनको शिवनगरस्थित नारायणी विद्या मन्दिर माविबाट एसएलसी उत्तीर्ण गरेका प्रचण्ड २०२७–२०२९ सम्म पाटन बहुमुखी क्याम्पसमा पढे। यहाँबाट आईएससी पूरा गरेका उनले २०३१–२०३३ सालमा रामपुर कृषि क्याम्पसबाट बीएससी गरी एमपीएसम्मको अध्ययन गरेका छन्।
कक्षा १० मा अध्ययनरत हुँदा छविलाल दाहाल नाम परिवर्तन गरी पुष्पकमल दाहाल बनेका प्रचण्ड २०३८ देखि २०६३ सालसम्म भूमिगत रहे। त्यस क्रममा उनको नाम कल्याण, विश्वास, निर्माण र प्रचण्ड भए। तर अहिले उनी पुष्पकमलभन्दा प्रचण्ड भनेर चिनिनुमै गर्व गर्छन्।
वि।सं। २०१९ मा ढिकुरपोखरी–२ बाट चितवन भरतपुरको शिवनगर गाविसमा बसाइँसराइ गरेका प्रचण्डले २०२६ वैशाखमा सीता पौडेलससँग विवाह गरेका हुन्। नारायणी विद्या मन्दिर मावि ९२०२९०, डण्डा मावि नवलपरासी र भीमोदय मावि आरुघाट, गोरखा २०३३–०३५ मा शिक्षक भएका प्रचण्डले २०३२ सालमा यूएसएडमा सेवा गरे।
विसं २०२८ मा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यताबाट आफ्नो राजनीतिक जीवन प्रारम्भ गरेका प्रचण्डले बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलससँग मिलेर २०३१ सालमा मार्क्सवादी अध्ययन समूह गठन गरे। उनी २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्य बने। वि।सं। २०३८ मा क्षेत्रीय ब्युरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महासचिव भई २०४० मा संघको केन्द्रीय अध्यक्ष भए।
विसं २०४१ मा नेकपा मशालको पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्य, २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा एकताकेन्द्रको महामन्त्री बने।
यसैगरी २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछि बसेको तेस्रो विस्तारित बैठकले पार्टीको नाम फेरेर नेकपा माओवादी राखेपछि महामन्त्री भएका प्रचण्डले २०५२ सालदेखि सञ्चालित जनयुद्धको नेतृत्व गरे। यसपछि २०५७ सालमा भउको दोस्रो राष्ट्रिय सम्मेलनबाट उनी नेकपा माओवादीको अध्यक्ष बने।
विसं २०५८ मा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर बनेका प्रचण्ड २०६३ असार २ गते काठमाडौं बालुवाटारमा पत्रकार सम्मेलन गरी भूमिगत जीवनबाट सार्वजनिक भएका थिए।
त्यसपछि २०६५ साउनमा प्रचण्ड गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री बने। २०६९ सालमा बृहत्तर लुम्बिनी विकास निर्देशक समितिको अध्यक्ष पनि भए। २०६९ सालमा हेटौंडामा सम्पन्न नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनबाट उनी अध्यक्ष पदमा चयन भए। २०७० सालमा विराटनगरमा भएको एकता महाधिवेशनबाट उनी पुनःअध्यक्ष बने। साथै उनले उच्चस्तरीय राजनीतिक समितिको संयोजकको भूमिकासमेत निर्वाह गरिसकेका छन्।
प्रचण्डले नेपाली क्रान्तिका समस्या ९भाग १, २ र ३०, संस्कृति, कला र सौन्दर्य चिन्तन, प्रचण्डका छानिएका रचनाहरू ९खण्ड १ र २० तथा प्रचण्डका छानिएका सैन्य रचनाहरूलगायत पुस्तक लेखेका छन्। उनले २०६४ सालमा सम्पन्न संविधान सभा निर्वाचनमा काठमाडौ–१० र रोल्पा–२ बाट सभासद पदमा विजयी भए। २०७० मंसिरमा सम्पन्न दोस्रो संविधान सभाको निर्वाचनमा पनि उनी सिराहा ५ बाट सदस्य चुनिए।
यसपछि २०७३ साउन १९ गते व्यवस्थापिका संसदमा ३६३ बहुमत प्राप्त गरी प्रचण्ड नेपालको ३९औं प्रधानमन्त्री बने। २०७४ मंसिर २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी चितवन क्षेत्र नं ३ बाट ४८, २७६ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्य पदमा विजयी बने।