चितवन । रत्ननगर नगरपालिकाका जनप्रतिनिधिहरुको कार्यकालले एक सय दिन पूरा गरेको छ । रत्ननगर नगरपालिकाले एक सय दिन पूरा गरेको अवधिमा पत्रकार सम्मेलन नै गरेर १०० दिनको उपलब्धि सार्वजनिक गरेको छ ।
रत्ननगरका मेयर प्रल्हाद सापकोटाले कृषि क्षेत्रलाई प्राथमिकता दिइएको दावी गरे पनि सय दिनको उपलब्धिमा कृषि प्राथमिकतामा परेको देखिएको छैन । रत्ननगरमा कृषिका जम्मा दुई वटा कार्यक्रममात्र देखियो । पशुपालन क्षेत्रलाई बढोत्तरी गर्ने लक्ष्यअनुरुप दूधमा प्रतिलिटर १ रुपैयाँ अनुदान तथा घाँसमा विशेष सहुलियत दिने गरी कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकता राखी कार्य अगाडि बढाइएको दावी मेयर सापकोटाले गरेका छन् ।
घाँसमा विशेष सहुलियत दिने त भनियो, तर केकति सहुलियत दिने हो, यो विषयमा रत्ननगर नगरपालिकाले केही बताएको छैन । घाँसमा सहुलियत दिँदैमा कृषि प्राथमिकतमा परेको पनि देखिदैन ।
यसअघि तत्कालीन रत्ननगरका मेयर नारायण वनले आर्थिक अवस्था कमजोर रहेका पशुपालक किसानहरुलाई अनुदानमा गाई वितरण गरेका थिए । पशुपालन मार्फत गरिबी न्यूनीकरण गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा गाई वितरण भइरहेको थियो ।
घाँसमा विशेष सहुलियत दिने त भनियो, तर केकति सहुलियत दिने हो, यो विषयमा रत्ननगर नगरपालिकाले केही बताएको छैन । घाँसमा सहुलियत दिँदैमा कृषि प्राथमिकतमा परेको पनि देखिदैन ।
तत्कालीन समयमा किसानलाई गाई वितरणको लागि सो नगरपालिकाको नवौं नगर सभाले एक करोड रुपैयाँ विनियोजन गरेको थियो । नगरपालिकाको एक करोड र किसानको एक करोड गरी दुई करोडको लगानीमा २०० वटा दुधालु गाई वितरण गर्ने योजना बनाएको थियो ।
अहिले रत्ननगर नगरपालिकाले एक सय दिनको उपलब्धि सार्वजनिक गरिरहँदा दुधालु गाई वितरणको कुनै कार्यक्रम नै देखिएन ।
यस्तै यसअघि रत्ननगर नगरपालिकाले गाई भैँसीलाई सुत्केरी भत्ता समेत वितरण गरेको थियो । गत वर्षको साउन भदौमा एकैचोटी ७५ वटा गाई भैँसीलाई सुत्केरी भत्तासमेत दिएको थियो, तर यसपटक सय दिनको रत्ननगरको उपलब्धिमा गाईभैँसीलाई कृुनै सुत्केरी भत्ता वितरण गरिएको पाइएन । एउटा गाई वा भैँसी सुत्केरी भएबापत् भत्ता स्वरुप जनही रु ५०० रुपैँया वितरण गरिएको थियो । अहिले पशु सुत्केरी भत्ता बढाउनुपर्ने ठाउँमा हटाइएको गुनासो किसानले गरेका छन् ।
रत्ननगरका मेयर प्रल्हाद सापकोटाले सार्वजनिक गरेको सय दिनको उपलब्धिमा गाई वा भैँसीपालन किसानलाई सुत्केरी भत्तालाई निरन्तरता दिइएको भेटिएन । अहिलेका मेयर सापकोटाले बाँजो जमिनको उपयोग गर्ने तथा सामूहिक रुपमा जग्गा भाडामा लिई सामुहिक खेती गर्ने कार्यक्रमको लागि आवश्यक बजेट विनियोजन गरेको बताए पनि कुनै कार्ययोजना आएको देखिएन ।
चितवन दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगाले रत्ननगर नगरपालिकाले किसानलाई परिचयपत्र दिनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘पालिकाले कयौँ कानुनहरु बनाउन सक्छ, पूरा अधिकार छ पालिकालाई किसानलाई परिचयपत्र दिन रत्ननगर नगरपालिकाबाट सुरु हुनुपर्छ ।’ उनले पहिला रत्ननगरमा दूधमा अनुदान नभए पनि अहिले सुरु भएको बताउँदै भने, ‘रत्ननगरमा पशु बिमा कार्यक्रम अगाडि बढेको छैन, यो बढाउन जरुरी छ ।’
केरा उत्पादक संघ चितवनका पूर्वअध्यक्ष विष्णुहरि पन्तले बिमा कार्यक्रम कार्यान्वयनमा आइरहेको बताए । उनले भने, ‘किसानले सुझाव दिएका छन्, बिमा कार्यक्रमलाई अगाडि बढाउन आवश्यक छ, रत्ननगर नगरपालिकाले बिमा कार्यक्रमलाई प्राथमिकता दिइरहेको छ ।’