चितवन । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले चितवन १ बाट प्रत्यक्षतर्फ उमेदवार बन्ने दावी गरेका छन् । हुन त यसअघि विभिन्न कार्यक्रममा नेता पाण्डेले चितवन १ बाट उमेदवार बन्ने दावी गरेका थिए ।
एमाले क्षेत्रीय समन्वय कमिटीमा नेता पाण्डेले चितवन १ मा उमेदवारको लागि आवेदन दिएका छन्, तर उनी आवेदन दिनेमा एक्लो नेता भएनन् । उनी चितवन १ बाट सर्वसम्मत सिफारिस हुन सकेनन् । चितवन १ मा जेएन थपलियाले पनि उमेदवारको लागि आवेदन दिएका छन् । उनले पनि चितवन १ बाट प्रत्यक्षतर्फ चुनाव लड्ने बताएका छन् ।
यस क्षेत्रबाट तेस्रो कार्यकालका लागि प्रत्यक्ष निर्वाचनमा सहभागी हुन पाण्डेले उम्मेदवारी दिएका हुन् । विसं २०७० र विसं २०७४ को निर्वाचनमा पाण्डे चितवन १ बाट निर्वाचित भएका थिए । एमाले एक नेताको अनुसार पाण्डेको तुलनामा नेता थपलिया जुनिएर हुन्, त्यसकारण एमालेबाट टिकट पाउने सम्भावना नेता सरेन्द्र पाण्डेको नै छ ।
ती नेताले भने, ‘पाण्डे पार्टीका उपाध्यक्ष हुन् । पूर्वअर्थमन्त्री हुन् । चितवन १ मा दुई पटक निर्वाचित भएसकेका नेता हुन् । उहाँले चितवन १ मा धेरै विकास गरेर देखाउनुभएको छ । चितवन १ का जनताको मनमनमा बस्नुभएको छ, त्यसकारण चितवन १ मा सुरेन्द्र पाण्डेको विकल्प मैले एमालेमा अहिले देखिएको छैन ।’
ती नेताका अनुसार अर्को नेता म पनि उठ्छु भनेर दावी गर्न त ठूलो कुरा भएन, पार्टीले निर्णय गर्नेछ । कुशल संगठकको व्यक्तित्व बनाएका सुरेन्द्र अर्थमन्त्री हुँदा चितवन १ मा राम्रो विकास गरेका उनीनिकटका नेताहरु बताउँछन् ।