चितवन। चितवन क्षेत्र नम्वर १ मा नेकपा एमालेका तर्फबाट आगामी प्रतिनिधी सभा सदस्यका लागि केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डे र केन्द्रीय सदस्य जेएन थपलियाले उम्मेदवार वन्न निवेदन दिएका छन् । आज एमाले क्षेत्रीय समन्वय कमिटिको भेलामा उपाध्यक्ष पाण्डे र केन्दिय सदस्य जेएन थपलियाले उम्मेदवार वन्न निवेदन दिएका हुन् ।
यस क्षेत्रबाट तेश्रो कार्यकालका लागि प्रत्यक्ष निर्वाचनमा सहभागी हुन पाण्डेले उम्मेदवारी दिएका हुन् । वि.सं. २०७० र वि.सं. २०७४ को निर्वाचनमा पाण्डे यसै निर्वाचित भएका थिए । दुवै निर्वाचनमा उनले काँग्रेसका नेता राजेन्द्र प्रसाद बुर्लाकोटीलाई भारी मतान्तरले पराजित गरेका थिए । पुर्व अर्थमन्त्री समेत रहेका पाण्डे विकासप्रेमी नेताका रुपमा परिचित छन् ।
बौद्धिक नेताका रुपमा परिचित थपलिया नेकपा एमाले चितवनका पूर्व अध्यक्ष समेत हुन् । उनले बागमती प्रदेश मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार भएर समेत काम गरिसकेका छन् ।
यस्तै प्रदेश १ क मा एक जना सदस्यका लागि ७ जना र प्रदेश १ ख मा एक जना सदस्यका लागि ११ जनाले नाम टिपाएको प्रदेश कमिटि सहइन्चार्ज हरि पौडेलले जानकारी दिए । प्रदेश १ क मा इमानसिंह लामा, सिंहबहादुर गोले, श्यामलाल विश्वकर्मा, अम्मरबहादुर तामाङ, राजेन्द्रप्रसाद सिवाकोटी, चन्द्रदेवी तामाङ र शुशिला पौडेल थपलियाले निवेदन दिएका छन् ।
त्यस्तै प्रदेश १ ख मा नारायण वन, राजाराम रेग्मी, प्रकाश खनाल, विकास डल्लाकोटी, स्वरुप सुयाँल, मुकुन्द दहाल, प्रेमनाथ दुवाडी, डाक्टर यमुना कडेंल, पूर्णबहादुर डल्लाकोटी, कपिलदेव पोखरेल, प्रताप डल्लाकोटि र गोपी प्रसाद नेपालले निवेदन दिएका छन् ।