चितवन । नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेल भएको खण्डमा चितवन क्षेत्र नं ३ मा विक्रम पाण्डे एमाले र राप्रपाको साझा उमेदवार हुनेछन् । यो क्षेत्रमा पाँच दलीय गठबन्धनबाट पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार बन्ने लगभग पक्का भएको छ ।
एमाले र राप्रपाको चुनावी तालमेल अन्तिम टुंगोमा पुगेको छ । राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दुबैको क्षेत्र हो चितवन ३ । २०७४ को चुनावमा लोकतान्त्रिक गठबन्धनबाट उमेदवार बनेका विक्रम पाण्डेलाई हराएर तत्कालीन नेकपाका उम्मेदवार बनेका प्रचण्ड प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
त्यतिबेला विक्रमलाई ९ हजारभन्दा बढी मतान्तरले पराजित गरेका प्रचण्डले ४८ हजार २७६ मत ल्याएका थिए । पाण्डेले ३८ हजार ९३५ मत पाए। त्यसबेला एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो। अहिले फेरि यी दुई नेता चुनावी मैदानमा आउने सम्भावना बलियो बन्दै गइरहेको छ ।