चितवन । चितवनमा ३ वटा क्षेत्र रहेका छन् । चितवन क्षेत्र नं १ मा पूर्विचितवनको तीन वटा पालिका खैरहनी, राप्ती र रत्ननगर पर्छन् । चितवन क्षेत्र नं २ मा कालिका, इच्छाकामना र भरतपुर महानगरका १० वटा वडा पर्छन् । चितवन ३ मा माडी नगरपालिका र भरतपुर महानगरपालिकाका १९ वटा वडा पर्छन् ।
चितवनको यी ३ वटा क्षेत्रमा नेपाली कांग्रेसका २३ नेताले प्रत्यक्षतर्फ उम्मेदवारमा दावी गरेका छन् । चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा महिला, बालबालिका मन्त्रीसमेत रहेकी नेतृ उमा रेग्मीले समेत उमेदवारको लागि दावी गरेकी छन् ।
यस्तै, प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गरेका छन् । मंसिर ४ गते हुने संघीय सांसदको चुनावमा चितवन २ बाट प्रत्यक्षतर्फ चुनाव लड्न चाहनेको संख्या नेपाली कांग्रेसबाट मात्र १० पुगेको छ ।
कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, निवर्तमान उपसभापति कैलाश कोइराला, निवर्तमान सह–सचिव राजन कार्की, नेता प्रकाश अधिकारी, तरुण दल चितवनका अध्यक्ष राजन ताम्राकार, भरत सापकोटा र इन्दिराकुमारी सडौला सापकोटाले चितवन २ बाट उमेदवारको लागि दावी गरेका छन् ।
प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसबाट चितवन क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ उम्मेद्वार बन्न ६ जनाले आवेदन दिएका छन् । प्रत्यक्षतर्फ उम्मेद्वार बन्न चाहनेमा वर्तमान सरकारका राज्यमन्त्री उमेश श्रेष्ठ पनि छन् । उनले चितवन १ र २ दुबैबाट उमेदवार बन्नको लागि आवेदन दिएका छन् ।
यस्तै चितवन १ बाट राष्ट्रिय योजना आयोगका वर्तमान उपाध्यक्ष डा विश्वनाथ पोडेल, पूर्व उपाध्यक्ष डा स्वर्णीम वाग्ले, तिर्थ खनिया, राजेन्द्र बुर्लाकोटी र भीमप्रसाद थपलिया उमेदवार बन्नको लागि निवेदन दिएका छन् । क्षेत्रीय समितिले आवेदन परेका सबै नामहरु केन्द्रमा पठाइसकेको छ ।
चितवनको निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्न नेपाली कांग्रेसबाट ७ जनाले आवेदन दिएका छन्। केन्द्रीय सदस्यहरू टेकप्रसाद गुरुङ, दिनेश कोइराला, पूर्वसांसद रामकृष्ण घिमिरे, विजयराज शर्मा भुषाल, भरतप्रसाद सापकोटा, रामप्रसाद अधिकारी र तारानाथ पौडेलले चितवन ३ बाट उम्मेदवार बन्नको लागि दावी गरेका छन्।