चितवन । चितवनको एकमात्र इच्छाकामना गाउँपालिकाले दुई हस्ती गुमाएको छ । इच्छाकामना ७ मा रहेको राष्ट्रिय आधारभूत विद्यालय उपरदाङगढीका प्रधानाध्यापक ऋषिराम ढकाल र इच्छाकामना ७ दाहाखानीका शिक्षक तथा गायक सुमन आलेमगरको मृत्यु भएसँगै गाउँपालिकाले दुई हस्ती गुमाएको महसुस गरेको छ ।
गाउँपालिका प्रमुख दानबहादुर गुरुङका अनुसार इच्छाकामनाले दुई शैक्षिक हस्ती गुमायो, दुबै जना बहुप्रतिभाका धनी थिए । प्रधानाध्यापक ऋषिराम ढकाल विद्यार्थीको प्रिय थिए । चितवनको पहाडी क्षेत्रमा बसेर विपन्न समुदायका बालबालिकालाई शिक्षाको उज्यालो छदाछर्दै ढकालको प्राणपखेर उडेको छ ।
ढकालको सम्मानमा भदौ १५ गते आज बुधबार गाउँपालिकाअन्तर्गतका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरेको प्रमुख गुरुङ बताउँछन् ।
गाउँपालिकाका अनुसार ढकाल सुतेको ठाउँमा मृत भेटिएका थिए । सोमबार साँझ खाना खाएर सुतेका उनी मंगलबार बिहान मृत भेटिएका हुन्।
गैँडाकोट कांग्रेसचोकका स्थायी बासिन्दा ४८ वर्षका ढकाल चितवनको पहाडी गाउँमा गएर त्यहाँको विपन्न परिवारका बालबालिकालाई मैनबत्ती बनेर शिक्षाको उज्यालो छरिरहेका थिए । ढकाल उपरदाङगढीमै बसेर स्थानीयलाई शिक्षासम्बन्धी जनचेतना समेत दिँदै आएका थिए ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत ई. कमल राउतले शैक्षिक क्षेत्रको विकास योगदान दिएका दुई शिक्षासेवीको निधनले गाउँपालिका शोकमा डुबेको बताए ।
उनले भने, ‘गाउँपालिका शोकमा डुबेको छ, शोक बिदा दिइएको छ । दुई शैक्षिक हस्ती गुमाउँदा पीडाबोध भएको छ ।’ इच्छाकामना ७ दाहाखानीमा जन्मिएका गायक सुमन आलेमगरको निधनप्रति पनि गाउँपालिकाले शोक प्रकट गरेको छ । आलेमगर गाउँपालिकाको गहना थिए । उनी गायक तथा सर्जकको रुपमा चिनिएका थिए । स्थानीयवासीको प्रिय थिए ।
आलेमगर राष्ट्रिय आधारभूत विद्यालय भरतपुर १ ठिमुरामा अध्यापन गराउने काम गरे पनि स्थानीय बालबालिकाको प्रेरणाको स्रोत थिए । उनी सो स्कुलका सहप्राचार्य थिए । लामो समयदेखि मुटु र मिर्गौलाको समस्यासँग लडिरहेका आलेमगरको सोमबार राति पुरानो मेडिकल कलेजमा निधन भएको परिवारले जनाएका छन् ।
करिब दशकअघिदेखि नै गायन क्षेत्रमा सक्रिय रहँदै आएका मगरले ‘रहरे मायालु’, ‘हे सानु माया’, ‘सलल बग्यो गण्डकी’, ‘रोधीको खालैमा’, ‘पिरतीको छाया’ ‘डाँडैको’, ‘लर्के वर’, ‘यानीमाया’ लगायतका दर्जन बढी गीत गाएका थिए ।