चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एमालेबीच चुनावी तालमेल हुने निश्चितजस्तो भइसकेको छ । केही दिनदेखि २ दलका दोस्रो तहका नेताबीच भएको छलफलले देशभर राप्रपा र एमालेबीच तालमेल गरेर जाने सहमति भइसकेको छ ।
राप्रपाले चितवन क्षेत्र नं ३ सहित २० सिटमा आफ्नो उमेदवारलाई एमालेले सघाउनुपर्ने अडान लिएको छ । अध्यक्ष र पदाधिकारीस्तरमा सहमति गरेर सिटमा टुंगो लगाउने गृहकार्य एमाले र राप्रपाले गरिरहेका छन् । चितवन ३ राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेको क्षेत्र हो ।
पाण्डे यसअघि २०७४ सालको चुनावमा तत्कालीन नेकपाबाट उमेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पराजित भएका थिए ।
राप्रपा चितवनले चितवन ३ मा पूर्वमन्त्री रहेका पाण्डेलाई नै उमेदवार बनाउने जनाएको छ । चितवन क्षेत्र नं ३ मा पाँच दलीय गठबन्धनबाट अध्यक्ष प्रचण्ड उठ्ने सम्भावना बलियो बनेको छ ।