चितवन। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको अनुसन्धान तथा प्रसार निर्देशनालय र स्कटल्याण्ड ग्रामीण कलेजको सहकार्यमा कम प्रयोग गरिएका बालीसम्बन्धी कार्यशाला गोष्ठी आज सम्पन्न भएको छ । गोष्ठीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सरकारी र गैरसरकारी विश्वविद्यालय एवं सङ्घ संस्थाका विशेषज्ञको सहभागिता थियो ।
सो अवसरमा विज्ञबाट छ वटा प्राविधिक कार्यपत्र प्रस्तुतीकरण गरिएको थियो । कम प्रयोग भएका बालीको महत्वका विषयमा कार्यपत्र केन्द्रित थियो । विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मीले यस्ता बालीको संरक्षण र प्रवद्र्धनबाट खाद्य सुरक्षा, रोजगारी र आयस्रोतमा बढवा गर्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विश्व विद्यालयले यस क्षेत्रको अध्ययन र अनुसन्धानमा जोड दिनेछ ।”
विश्वविद्यालयका रजिष्ट्रार प्रा डा शारदा थपलियाले कम प्रयोग हुने बालीको उत्पादकत्व वृद्धि गर्नुपर्ने भन्दै कृषिका विभिन्न क्षेत्रको अलवा पशु आहारमा पनि ती बालीको योगदान रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कम लागतमा बढी उत्पादन गर्ने गरी काम गर्नुपर्छ ।” सोही अवसरमा विश्वविद्यालयका अनुसन्धान तथा प्रसार निर्देशक प्रा डा अर्जुनकुमार श्रेष्ठ र योजना निर्देशक डा विश्वचन्द्र ढकालले गोष्ठीको नतिजाको आधारमा विश्वविद्यालयले दीर्घकालीन परियोजनाका लागि सम्बन्धित दातृ निकायसँग समन्वय गरी अघि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा अध्यक्षता गर्नुभएका विश्वविद्यालयका प्राडा भूमिनन्दन देवकोटाले कम प्रयोग गरेका बालीको उत्पादन बढाइ मूल्य कम गर्नुपर्ने, प्रशोधनमार्फत उपभोक्ताको माग बमोजिम विभिन्न स्वादका परिकार तयार गर्नुपर्ने, नयाँ प्रविधिको प्रयोग गरी उत्पादन बढाउनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा स्कटल्याण्डका तीन विज्ञसहित नेपाल सरकार, नार्क, कृषि विभाग, कृषि अध्ययन गर्ने विश्वविद्यालयका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
कोदो, फापर, जौ, चिनो, कागुनो, जुम्ली सिमी आदि कम प्रयोगमा आउने बालीको रुपमा रहेका छन् । धान, गहुँ, मकै बढी प्रयोग हुने बालीका रुपमा नेपालमा परिचित छन् ।