चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले मेघौलीले विश्वमै इको टुरिजम र पर्या–पर्यटनका लागि नमुना गन्तव्य रहेको बताउनुभयो । मेघौली सँस्कृतिक महोसवको शनिबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर दाहालले मेघौली थप प्रचार–प्रासर गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने उल्लेख गर्नुभयो ।
मेयर दाहालले स्थानीय स्तरमा आयोजना हुने मेला महोत्सवले यहाँको कला सँस्कृति, पर्या पर्यटनको प्रचार–प्रसारमा टेवा पुग्ने बताउनुभयो ।
मेघौली क्षेत्र नारायणी र राप्ती नदीको संगमस्थल, चितवन राष्ट्रिय निकुञ्ज, सहज सडक पूर्वाधार भएकाले नेपालकै पर्या–पर्यटनको केन्द्र विन्दु भएको उहाँको भनाई थियो ।
नेपालको तेस्रो पर्यटकीय गन्तव्य चितवन र भरतपुरको मुख्य पर्यटकीय स्थल मेघौलीको विकासको लागि पर्यटकीय पूर्वाधारहरु निर्माण हुन क्रम जारी रहेको उल्लेख गर्नुभयो । ‘मेघौली विमानस्थलको स्तरोन्ती भइरहेको छ, उहाँले भन्नुभयो,‘राष्ट्रिय स्तरको इको पार्क निर्माण भइरहेको छ । नारायणी र राप्ती तटबन्धनपछि उकास भएको जमिनमा पार्क निर्माणलाई प्राथामिकता दिइने छ । भरतपुरलाई ग्रीन बेल्टका रुपमा विकास गर्छौ । पर्यटनको लागि यहाँ प्रचुर सम्भावना छ ।’
मेयर दाहालले नारायणी नदीको ४ वटा प्याकेजमा ठेक्का भएर काम सुरु भएको र राप्ती नदीको डिपीआर भई अगामी वर्ष तटबन्धनको काम सुरु हुने जानकारी दिनुभयो । भरतपुर महानगरपालिकाले दिगो समधान हुने गरी विकास निर्माणको कामलाई अगाडि बढाएकाले देशमै नमुना शहरको रुपमा स्थापित हुदै गएको मेयर दाहालले बताउनुभयो ।
आजबाट सुरु भएको महोत्वस ८ दिनसम्म चल्ने छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने आयोजक टाईगर युवा क्लबले जनाएको छ ।