चितवन । खैरहनी नगरपालिकाले शिक्षकलाई राजनीति गर्न कडाइ गर्ने भएको छ । नगरपालिकाले विज्ञप्ति नै जारी गरेर जुन कुनै सरकारी सेवामा आबद्ध भएका शिक्षक राजनीतिक दलमा आबद्ध भए कारबाही गर्ने जनाएको छ ।
विज्ञप्तिमा मेयर शशी खनियाँले सरकारी सेवामा आबद्ध भएका शिक्षकहरुले राजनीतिक दलको सदस्यता त्याग्नुपर्ने बताए । उनले दलमा आबद्धता भएका शिक्षकले तत्काल राजीनामा दिनुपर्ने नदिए कारवाही गर्ने चेतावनी समेत दिए । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु विभिन्न राजनीतिक दलमा आबद्ध छन् । दलका शिक्षकहरुको मात्र भातृसंगठनहरु छन् ।
शिक्षकहरु पार्टीको भातृसंगठनमा आबद्ध भएर सक्रिय रुपमा पार्टीको कार्यकारी पदमा रही काम गरेका छन् । सक्रिय राजनीतिमा शिक्षकहरु सहभागिता जनाउँदा पठनपाठन प्रभावित भएको खैरहनी नगरपालिकाको ठहर छ । ‘शिक्षकहरु दलमा आबद्धता हुँदा पठनपाठन प्रभावित भयो, जसका कारण गुणस्तरीय शिक्षा विद्यार्थीले पाएनन्’ खनियाँले भने, ‘यो उचित कदम हो, शिक्षकले दलको सदस्य त्याग्नैपर्छ, नत्र कारबाही प्रक्रिया अघि बढाउँछु ।’
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १४ को उपदफा (२) को खण्ड (ग) ले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई कुनै पनि राजनीतिक दलको सदस्यता दिन नहुने व्यवस्था गरेको छ ।
नेपालको मौजुदा शिक्षा ऐनले शिक्षक कर्मचारीलाई कुनै पनि राजनीतिक दलमा आबद्ध भई कुनै पनि पदमा रहन निषेध गरेको छ।
शिक्षकसँग सम्बन्धित पेसागत संगठनले भने शिक्षकहरूलाई राजनीतिमा संलग्न हुन नदिनु योग्य मानिसहरूलाई देशको नेतृत्वमा पुग्नबाट वञ्चित गर्नु हो भन्ने जिकिर लिएका छन्। उनीहरूले राजनीतिक पार्टीको सदस्य बन्नु र राजनीतिका माध्यमबाट समाजसेवा गर्नुलाई संविधानप्रदत्त मौलिक हक हो भनी व्याख्या गरेका छन्।