चितवन । चितवन जिल्लामा तीन वटा क्षेत्र रहेका छन् । रत्ननगर, खैरहनी र राप्ती नगरपालिका क्षेत्र नं १ मा पर्छ । क्षेत्र नं २ मा इच्छाकामना, कालिका र भरतपुर महानगरपालिकाका १० वटा वडा पर्छन् ।
चितवन क्षेत्र नं ३ मा माडी र भरतपुर महानगरपालिकाका १९ वडा वटा पर्छन् । चितवन क्षेत्र नम्बर १ मा हाल एक लाख ४१ हजार १७९ मतदाता रहेका छन् । निर्वाचन कार्यालय भरतपुरका प्रमुख भीमसेन कार्कीका अनुसार २०७४ सालको निर्वाचनभन्दा अहिले २१ हजार १८१ मतदाता बढेका छन् । चितवन क्षेत्र नं १ मा २०७४ सालको निर्वाचनमा एक लाख १९ हजार ९९८ मतदाता थिए ।
प्रमुख कार्कीले भने, ‘चितवन क्षेत्र नम्बर २ मा हाल एक लाख २५ हजार ३८० मतदाता रहेका छन् ।’ २०७४ सालको निर्वाचनको बेला भन्दा अहिले १७ हजार १६४ मतदाता थपिएका कार्की बताउँछन् । उनका अनुसार २०७४ सालमा चितवन क्षेत्र नम्बर २ मा एक लाख ८ हजार २१६ मतदाता थिए ।
चितवन क्षेत्र नं ३ मा हाल एक लाख ४५ हजार ६०६ मतदाता रहेका छन् । यस क्षेत्रमा २०७४ सालको तुलनामा १९ हजार ७८३ मतदाता बढेका छन् । २०७४ मा चितवन ३ मा एक लाख २५ हजार ८२३ मतदाता रहेका थिए ।
जिल्ला निर्वाचन कार्यालय भरतपुरका अनुसार तीन क्षेत्र रहेको चितवनमा २०७४ प्रतिनिधिसभा निर्वाचनमा भन्दा यसपटक ५८ हजार एक सय २९ मतदाता थपिएका छन् । चितवन जिल्लाभर हाल चार लाख १२ हजार एक सय ६५ मतदाता छन् । विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा तीन लाख ५४ हजार ३६ मतदाता थिए ।
२०७९ मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा चितवनमा १६१ मतदानस्थल, ४५१ मतदान केन्द्र रहने निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख कार्कीका अनुसार २०७९ मंसिर ३ गते १८ वर्ष पूरा भएका नागरिकले भोट हाल्न पाउनेछन् ।
कार्यालयका प्रमुख कार्कीले भदौ १२ गतेसम्म सम्पूर्ण वडामा नामावली पुग्ने बताए । १३ गतेदेखि १५ गतेसम्म मतदाता नमावलीमा रहेको त्रुटि सच्याउने, उजुरी दिने, मतदाताको नाम एकभन्दा बढी जिल्लामा भए एक स्थानमा मात्र कायम गर्न निवेदन दिन सकिने कार्की बताउँछन् ।
यस्तै १३ गतेदेखि १६ गतेसम्म नागरिकता त्याग गरेका वा मृत्यु भएका मतदाताको नामावली हटाउनको लागि सूचना दिने समय तोकिएको छ । यस्तै १३ देखि १७ गतेसम्म उजुरी परेका मतदातालाई प्रमाणसहित सफाइको मौका दिने, नागरिकता त्याग गरेका, रद्द भएका, बसाई सरी अन्यत्र गएका र मृत्यु भएका मतदाताको नामावली हटाउने समय रहेको निर्वाचन कार्यालय भरतपुरले जनाएको छ ।