चितवन। शक्तिखोरकी मौरीपालक कृषक प्रभा केसीको ५२ घार मौरी नष्ट भएको छ । अज्ञात समूहले मौरीघारमा विषादी छर्केर मौरी नष्ट पारेका हुन्।
कालिकाको शक्तिखोरमा थापा पशुपक्षी तथा कृषि फाम सञ्चालन गर्दै आएकी केसीले मौरीचरनका लागि दुई महिना अगाडी मात्रै रत्ननगर नगरपालिका- १४ पिठूवामा मौरी ल्याएकी थिईन् । मौरी नष्ट हुँदा ६ लाख बराबरको क्षती भएको कृषक केसी जानकारी दिइन् ।
अज्ञात समूहले एक्कासी विषादी छर्केर मौरी मारीदिएपछि व्यवसाय नै चौपट होलाजस्तो भएको उनले बताइन् । उनले भनिन्, ‘यतिका समय पालेर राखेको मौरी फाईदा लिने समयमा मरे, यसले मलाई ठूलो घाटा लागेको छ ।’ यस्तै अवस्था रहे व्यवसायबाटै हात धुनुपर्ने अवस्था आउने केसीले दुःखेसो गरिन् । विगत ८ वर्षदेखि मौरीपालन व्यवसाय गर्दै आएकी उनी मह बेचेर वार्षिक १५ लाख रुपैयाँ आम्दानी गर्थीन । ‘मेलिफेरा’ जातको मौरी पालेकी केसीले मह बेचेर आम्दानी गर्दैै आएका थिईन् ।
नेपाल मौरी पालक महासंघ अध्यक्ष शिव प्रसाद शर्मा पौडेलले चराउन राखिएको मौरीको गोलामा विष हालेर मार्नु किसानविरुद्धको अपराध भएको भन्दै दोषीलाई पक्राउ गरी कारवाही गर्न सरकारसंग माग गरेका छन् । उनले पीडितलाई उचित क्षतिपूर्ति दिन समेत सरकारसँग माग गरे ।
कालिका मौरीपालक महासंघका अध्यक्ष तेज प्रसाद लामिछानेले ” घटनामा संलग्न व्यक्तिको पहिचान गरी जतिसक्दो छिटो कारबाही गर्नुपर्ने ” माग गरे । उनले भने, ‘अकल्पनिय क्षति भएको यो पहिलो घटना हो । पिडीत कृषकलाई राज्यले राहतको व्यवस्था गर्नुपर्छ । ’
मौरीपालन महासंघ चितवनका अध्यक्ष दुर्गा तामाङले मौरी मर्दा कृषकलाई राहत हुने गरी नेपाल सरकारले विमाको व्यवस्था गर्नुपर्ने माग गरे । उनले भने, “व्यावसायिक मौरीपालनले गति लिन लागेको बेला यस्ता घटनाले हामीलाई आहत बनाएको छ । दोषीलाई कारवाही नगरिए अपराधिक मनोवृत्ति बढ्छ र किसान निरुत्साहित हुन्छन् ।”
बिहीवार राति घटना भएपछि घटनाको विषयमा बुझ्न सरोकारवाला पक्ष, कृषक घटनास्थलको अनुगमन गरेका छन् । चितवनका मौरी चरनका लागि दाङ, बाके, बर्दीया लैजादा यस्तो घटना कहिल्यै नघटेकोमा रत्ननगरमा चरनका लागि ल्याईएको मौरीगोलामा विषादी हालेर मारिएपछि मौरी चराउन पुगेका अन्य किसानहरु पनि यतिबेला त्रसित भएका छन् ।