चितवन । चितवन उद्योग संघ औद्योगिक पाठशालाको आयोजनामा डिजिटल व्यावसायिक योजना लेखनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको सभापतित्वमा सम्पन्न अभिमुखीकरण कार्यक्रममा स्रोत व्यक्ति ड्रिम वर्क सोलुसनका निर्देशक सन्तोष जोशी र ड्रिम वर्क सोलुसनका कार्यक्रम व्यवस्थापक किरण बमानुले डिजिटल व्यवसायिक योजनाको विषयमा आफ्नो प्रस्तुतिकरण गर्नु भएको थियो ।
चितवन उद्योग संघका उपाध्यक्ष एवम् नीति निर्माण समन्वय तथा उद्यमी पाठशाला सञ्चालन विभागका संयोजक युग राज वस्तीले स्वागत सँगै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले उद्योगी बन्ने सोचका साथ आउने नयाँ उद्योगीहरुलाई डिजिटल व्यवसायिक योजना लेखनले निकै मद्दत पुग्ने भएकोले उद्योगीहरुले यसलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । उहाँले अबका दिनमा ड्रिम वर्क सोलुसन प्रालिसँग सहकार्य गरेर नयाँ उद्योगको सिर्जनाको लागि आउनेहरुलाई संघको तर्फबाट सक्दो सहयोग गर्ने समेत बताउनुभयो ।
कार्यक्रममा सहभागी उद्योगीहरुले कृषि क्षेत्रसँग सम्बन्धित दीर्घकालिन व्यवसायिक योजनाको विषयमा प्रस्तुत गरिएको प्रस्तुतिकरण निकै महत्वपूर्ण र उपयोगी रहेको बताए । साथै, सहभागी उद्योगीहरुले डिजिटल व्यवसायिक योजनाको उपादेयता, वैद्यता र विश्वसनियताका विषयमा प्रश्नोत्तर गरेका थिए । उद्योगीबाट आएका जिज्ञासाहरुलाई कार्यक्रमका स्रोत व्यक्तिहरुले पालैपालो प्रष्ट्याएका थिए ।
अभिमुखीकरण कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्ष मदन घिमिरे, कार्यसमिति सदस्यहरु दण्डपाणी भट्ट, पार्वती सुवेदी कँुबर, सुरेन्द्र कार्की, चन्दना कोइराला, युवा उद्यमी मञ्चका सदस्य अश्विन गोले, नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछाने लगायत तीन दर्जनभन्दा बढी उद्योगीहरुको सहभागिता रहेको थियो । चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको अभिमुखीकरण कार्यक्रमलाई चितवन उद्योग संघका उपाध्यक्ष एवम् सहकारी व्यवस्थापन, औद्योगिक प्रदर्शनी तथा बिक्री केन्द्र सञ्चालन विभागका संयोजक सूर्यप्रसाद न्यौपानेले धन्यवाद सहित समापन गर्नुभएको थियो ।