चितवन । आगामी मंसिर ४ गते निर्वाचन घोषणा भइसकेको छ । पाँचदलीय सत्ता गठबन्धनले फेरी तालमेल गरेर अघि बढ्ने सहमती गरिसकेका छन् । तालमेल गर्ने निर्णयसँगै साउन मसान्तभित्र सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल पनि बनिसकेको छ ।
कार्यदल बन्नुअघि दलहरूले आ-आफ्नो संयन्त्रबाट जिल्लाभरिको रिपोर्टहरू लिइरहेका छन्।
चितवनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी) कै मात्र दाबी रहने छ । जनता समाजवादी र जनमोर्चाले दावी गर्नेछैनन्।
सरकारको नेतृत्व गरिरहेको कांग्रेसले केन्द्रीय समिति बैठकबाट आफ्नो बहुमत सुनिश्चित हुनेगरी तालमेल गरेर जाने निर्णय गरिसकेको छ।
यद्यपि गठबन्धनभित्रै कांग्रेसको बहुमत रोक्न समाजवादी केन्द्रको पहलसमेत भइरहेका बेला गठबन्धनका साना दलले सिट बाँडफाँटमा आ९आफ्नो पोजिसन बनाउन थालेका छन् ।
यसबेला चितवनमा पनि सिट बाँडफाँटको कुरा अगाडी बढेको छ । दलहरुले आन्तरिक तयारी थालिसकेका छन् । यद्यपी दलहरु बिच आधिकारिक बैठक भने बसेको छैन ।
चितवनको कूल सिट मध्ये ७० प्रतिशतमा कांग्रेसको दाबी हुने श्रेष्ठको भनाइ छ।
चितवनमा तीन संघीय निर्वाचन क्षेत्र र ६ वटा प्रदेशसभा रहेका छन् । चितवनमा जम्मा ९ सिट छ।
चितवनको नौँ वटा सिट मध्ये नेपाली कांग्रेस चितवनले संघीय तर्फ दुई र प्रदेश तर्फ ४ गरि ६ सिटमा दावी गर्ने भएको चितवन कांग्रेसका निर्वतमान सभापति जितनारायण श्रेष्ठले बताए । उनले नेपाली कांग्रेसको दाबी संघीय तर्फ चितवनको दुई क्षेत्रमा हुने बताए । उनले भने, ‘संघीय तर्फ कांग्रेसले क्षेत्र नम्बर १ र २ गरेर दुई निर्वाचन क्षेत्रमा दाबी गर्छ, प्रदेश तर्फ ४ वटामा दाबी रहन्छ । चितवनको क्षेत्र २ को (क) वा (ख) एउटामा दावी रहन्छ , ३ नम्बरको दुवै प्रदेशमा दाबी रहन्छ, १ को (ख) मा दाबी रहन्छ ।’
चितवनको कूल सिट मध्ये ७० प्रतिशतमा कांग्रेसको दाबी हुने श्रेष्ठको भनाइ छ।
त्यस्तै, नेकपा माओवादी केन्द्रले आफनो दावी चितवनको क्षेत्र ३ मा रहेको प्रष्ट पारेको छ । अध्यक्ष प्रचण्डनै चुनाव लड्न आउने भएकाले पनि आफुहरुको दाबी प्रष्ट हुने नेकपा माओवादी केन्द्र भरतपुर महानगर अध्यक्ष इश्वर सापकोटा ‘सुमन’ले बताए । माओवादीले प्रदेश तर्फ २ सिटमा दाबी गर्ने उनको भनाई छ । उनले प्रदेश तर्फ ३ नम्बर क्षेत्रको (क) मा र २ नम्बर क्षेत्रको पनि (क) मा नै दाबी रहने बताए । त्यस बाहेकका अन्यमा गठबन्धनका अरु दललाई माओवादी केन्द्रले सहयोग गर्ने सापकोटाको भनाई छ।
यस विषयमा नेकपा एकिकृत समाजवादीका चितवन जिल्ला अध्यक्ष डा. कृष्ण पन्तले यस अघि एमालेले जितेको क्षेत्रमा समाजवादीको दावी रहने बताए । उनले समाजवादी एक्लै चुनाव लड्न सक्षम रहेको बताउँदै आफुहरु प्रति गठबन्धन इमान्दार भएन भने, त्यसको बदलामा कांग्रेस र माओवादीलाई नै क्षति हुने बताए । उनले भने, ‘हामी क्षेत्र नम्बर १ दाबी गछैँ प्रदेश तर्फ २ सिट दावी गछैँ । अहिले नै प्रदेश तर्फ कुन दाबी गर्ने निर्णय भैसकेको छैन । तर, २ सिटमा दाबी रहन्छ।’
यसरी तीन दलले आफनो दाबी पेश गर्दै गर्दा गठबन्धनमा स्थानीय तहको निर्वाचनमा जस्तो खटपट आउने सम्भावना कम रहेको समाजवादीका जिल्ला अध्यक्ष पन्त बताउँछन् । ‘सबै सिट माथि केन्द्रबाटै तोकिन्छ त्यही भएर स्थानीय तहको निर्वाचनको जस्तो समस्या आउँदैन उनले भने।’