काठमाडौं । मौजुदा प्रतिनिधिसभा र प्रदेशसभा आगामी निर्वाचनका लागि उम्मेदवारका बन्दसूची निर्वाचन आयाेगमा बुझाएपछि मात्र निष्क्रिय हुने भएको छ ।
सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाच आगामी ४ मंसिरमा गर्ने निर्णय गरेको छ । उक्त निर्वाचनका लागि उम्मेदवारको बन्दसूची बुझाएपछि मौजुदा प्रतिनिधिसभा र प्रदेशसभा निष्क्रिय हुने संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।
‘विगतको अभ्यासअनुसार आगामी निर्वाचनका लागि उम्मेदवारको बन्दसूची बुझाएपछि अहिले प्रतिनिधिसभा र प्रदेशसभा निष्क्रिय हुन्छ,’ प्रवक्ता पाण्डेले भने ।
२०७४ सालमा पनि उम्मेदवारको बन्दसूची बुझाएपछि व्यवस्थापिका संसद् निष्क्रिय भएको उनको भनाइ छ । यही अभ्यासका आधारमा मौजुदा प्रतिनिधिसभा र प्रदेशसभा पनि उम्मेदवारको बन्दसूची बुझाएपछि निष्क्रिय हुने प्रवक्ता पाण्डेले बताए ।
सरकारले निर्वाचनको मिति घोषणा गरे पनि संसद् सञ्चालनमा भने बाधा नपुग्ने उनकाे भनाइ छ । पाण्डेले सरकारले नयाँ विधेयक ल्याउन सक्नेदेखि सचिवालयमा दर्ता भएका विधेयक र प्रस्तावमाथि छलफल र पारित गर्न निर्वाचनको मिति घोषणाले बाधा नपुग्ने बताए ।
निर्वाचनकाे मिति घाेषणा भएसँगै संसदकाे कार्यकाल कहिलेसम्म रहन्छ भन्ने विषयमा विभिन्न मत सार्वजनिक भएकाे छ । केही संविधानविद् निर्वाचनकाे मिति घाेषणा भएसँगै संसद् स्वत: विघटन हुने बताउँछन् । केही भने मनाेनयन दर्ता भएपछि मात्र सांसदकाे कार्यकाल सकिने बताउँछन् ।