चितवन । भरतपुरको मुख्य सडकमा अबको १५ दिनभित्र भूमिगत विद्युतिकरणको कार्य सुरु गर्ने गरी तयारी थालिएको छ । भरतपुर महानगरपालिकाले पहिलो चरणमा गोन्द्राङ–पुलचोक ६ लेन सडक, आँपटारी–केन्द्रीय बस टर्मिनल र मेनरोड नारायगढमा भूमिगत विद्युतिकरण गर्न लागिएको छ ।
महानगरपालिकाले बुधबार भूमिगत विद्युतिकरणको लागि सरोकारवाला निमार्ण व्यवसायी, नेपाल टेलिकम, सडक, खानेपानी, उद्योग वाणिज्य संघसँग अन्तरक्रिया गरेको छ । भूमिगत विद्युतिकरणको कार्यलाई निरन्तर अगाडि बढाउने गरी सरोकारवाल पक्षबीच सहमति पनि भएको छ ।
भरतपुर महागनरपालिका प्रमुख रेनु दाहालले भरतपुरलाई भूमिगत विद्युतिकरणसँगै सौन्दर्यकरण गर्ने कार्यलाई प्रथामिकतामा राखिएको बताउनुभयो । विद्युतिकरणको कामलाई निर्धारित समयमा सम्पन्न गर्ने गरी निर्माण कम्पनीले सहमति जनाएको छ । एक वर्षअघि मूख्य सडकमा भूमिगत विद्युतिकरण गर्ने गरी ठेक्का सम्झौता भइसकेको छ ।