चितवन । यही साउन १५ गते आइतबार भरतपुर २ क्षेत्रपुरका बरुणबाबु घिमिरेकोे नामबाट सहिदचोकस्थित एक चस्मा पसलका सञ्चालक अनिष अधिकारीलाई फेसबुकमा म्यासेज आयो ।
साँझ साढे ५ बजेतिर आएको म्यासेजमा अधिकारीसँग १५ हजार रुपैयाँ मागिएको थियो । सोही दिन गैंडाकोटस्थित उनका भतिज रोजन घिमिरेसँग पनि बरुणबाबु घिमिरेकै फेसबुकबाट १८ हजार मागियो । बरुणकै नामबाट काठमाडौं र गोरखामा बसेका अन्य दुई जनालाई पनि पैसा मागेको म्यासेज गयो । तर, त्यो म्यासेज बरुणबाबुले नै भने लेखेका थिएनन् ।
एक अज्ञात व्यक्तिले बरुणबाबुको नाममा उनको तस्बिर र ठेगाना उही राखेर अर्को फेसबुक अकाउन्टमार्फत आफन्त साथीभाइलाई म्यासेन्जरमा म्यासेज गरी पैसा मागेको थाहा हुन आयो । चितवन प्रेससँग कुरा गर्दै बरुणबाबुले भने, ‘मेरो नजिकै अनिष भाइको पसल छ । उसको इसेवा अकाउन्टमा पर्याप्त पैसा नभएको कारणले अनिष भाई मेरै पसलमा आएर ‘सरी’ दाई मसँग त हजुरले भनेजति पैसा पुग्दैन नि ! भन्नुभयो । म त अचम्म भएँ, मैले त पैसा मागेकै छैन, कसरी मेरो फेसबुक आइडीबाट पैसा मागियो ? ’
त्यसपछि उनले पैसा मागेको आइडी हेरे । हेरेपछि उनले मेरो आइडी फेक बनाइएको रहेछ भन्ने थाहा पाए । उनले भने, ‘दुरुस्तै मेरो प्रोफाइल भएको नयाँ फेसबुक खोलिएको रहेछ, त्यही आइडीबाट मेरा साथीभाई र आफन्तसँग पैसा मागिएको रहेछ ।’
इमेल, इमो, भाइबर र ह्वाट्सअपमार्फत विभिन्न किसिमका चिठ्ठा परेको छ भन्ने म्यासेज आइरहेको हुनसक्छ, सामान गिफ्ट आएको छ भन्ने म्यासेज आएको हुनसक्छ, यस्तो म्यासेजबाट सचेत हुनुपर्ने देखिन्छ’ प्रवक्ता अधिकारीले भने, ‘यस्ता खालको म्यासेजले गर्दा सामाजिक तथा आर्थिक अपराध बढ्न सक्छ, यस्तो म्यासेज आएमा होशियार हुनुपर्छ ।
एकाएक फेक आइडीबाट पैसा माग्दै म्यासेज जान थालेपछि बरुणबाबुले फेसबुकमा भने– ‘यो मेरो नामको फेक आइडी हो कोही पनि नझुक्किनु होला । धेरै साथीसँग फेक आइडीबाट पैसा मागेको छ । यो फेक आइडीलाई रिपोर्ट गर्दिनुहोला ।’
फेक आइडीमार्फत उनका साथीसँगको च्याट संवादमा इसेवा आइडी भनेर यो मोबाइल नम्बर ९८१६४३१३९ दिइएको थियो । उक्त नम्बरमा फोन लगाउँदा एक पटक संवाद हुनसाथ फोन काटिएको बरुण बताउँछन् । त्यस नम्बरमा फेरि फोन लगाउँदा सम्पर्क नभएको उनको भनाइ छ ।
त्यस्तै, चितवनका पत्रकार राजु चौधरीले पनि यही समस्या फेसबुकमार्फत सुनाएका थिए । चौधरीले साउन १५ गते इसेवा आइडीको दुरुपयोग गरिएको भन्दै फेसबुक स्टाटसबाट जानकारी गराएका थिए । पत्रकार चौधरीले लेखेका छन्, ‘मेरो इसेवा आइडी नम्बर ९८०१३५११५१ मा अंकल प्रशान्त पियाको फेसबुक मेसेन्जरबाट पैसा माग भएको छ । कृपया कुनै पनि हालतमा कसैले नपठाउनुहोला । फेसबुक मेसेन्जर कसैले ह्याक गरेर पैसा माग गरिरहेकोले कृपया पैसा नपठाउन मेरो अनुरोध छ ।’
यी दुुई सामाजिक सञ्जालबाट भइरहेको ठगीका प्रतिनिधि घटनामात्र हुन् । पछिल्लो समय देशभर प्रविधिको प्रयोग गरी ठगी गर्ने क्रम बढिरहेको छ ।
ह्वाटस्अप, इमोको प्रयोग गरी चिठ्ठा परेको छ भनी बैंक खाता र ओटिपी माग गरी बैंक खातामा भएको रकम तान्नेजस्ता क्रियाकलाप भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । फेक आइडीमार्फत ब्ल्याकमेल गर्नेक्रम पनि बढिरहेको प्रहरीको भनाइ छ ।
प्रविधिको प्रयोगसँगै दुरुपयोग गरी आपराधिक घटनाहरु वृद्धि हुँदै गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता, प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले बताए । ‘इमेल, इमो, भाइबर र ह्वाट्सअपमार्फत विभिन्न किसिमका चिठ्ठा परेको छ भन्ने म्यासेज आइरहेको हुनसक्छ, सामान गिफ्ट आएको छ भन्ने म्यासेज आएको हुनसक्छ, यस्तो म्यासेजबाट सचेत हुनुपर्ने देखिन्छ’ प्रवक्ता अधिकारीले भने, ‘यस्ता खालको म्यासेजले गर्दा सामाजिक तथा आर्थिक अपराध बढ्न सक्छ, यस्तो म्यासेज आएमा होशियार हुनुपर्छ ।’
जिल्ला प्रहरी कार्यालय चितवनमा अनलाइनबाट ठगिएका वर्षमा २० देखि २५ वटा केसहरु आउने गरेको प्रवक्ता प्रहरी नायव उपरीक्षक अधिकारी बताउँछन् । उनी भन्छन्, ‘पछिल्ला १० दिनमा मात्रै फेक आइडी बनाएर ठगी गरेको उजुरी चार वटा परेका छन् । त्यससम्बन्धी अनुसन्धान भइरहेको छ ।’
सामाजिक सञ्जाल तथा अनलाइनमार्फत विभिन्न बहानामा ठगी तथा रकम असुली गर्ने घटनाबाट सतर्क रहन अधिकारीले आग्रह गरेका छन् । उनी भन्छन्, ‘कसैले आर्थिक सहयोग माग्यो भने पनि पूर्ण जानकारी लिएर हो वा होइन भन्ने राम्रोसँग बुझेर मात्र कारोबार गर्न सबैलाई आग्रह गर्दछु ।’ आफ्नो फोनमा अपरिचित व्यक्तिको फोन आयो र वित्तीय संस्थाका रेकर्ड तथा ओटिपीहरु माग्यो भने नदिन उनले सबैलाई आग्रह गरे ।