चितवन । चितवनमा अनलाइनबाट मतदाता नामावली दर्ता गर्नेको संख्या न्यून रहेको छ । जिल्लामा दुई साताअघि अनलाइन प्रणाली मार्फत मतदाता नामावली दर्ता सुरु गरिएको थियो । हालसम्म अनलाइन मार्फत जम्मा ३ सयको हाराहारीमा मात्र नाम दर्ता भएको जिल्ला निर्वाचन अधिकृत भीमसेन कार्कीले बताए ।
सबै मतदाताले अनलाइन मार्फत नाम दर्ता गराउन नजान्ने तथा अनलाइनमा प्रविधिक समस्या आउने कारणले गर्दा अनलाइनमा कम भएको कार्की बताउँछन् । उनी भन्छन्, ‘अनलाइनमार्फत नाम दर्ता गरिने व्यवस्था गरिएपनि दैनिक १० देखि १२ जनाले मात्रै नाम दर्ता गराउने गरेका छन् ।’
अनलाइनबाट नामावली दर्ता गर्ने व्यवस्था गरिएपनि कार्यालय गएर फारम भर्नेको संख्या भने नघटेको थापाले बताए । निर्वाचन कार्यालयमा दैनिक ४ सयको हाराहारीमा आइरहेको उनको भनाई छ । उनी भन्छन्, ‘मतदाताले अनलाइामार्फत नाम दर्ता गराए पनि फोटो खिच्न र बायोमेट्रिकका लागि निर्वाचन कार्यालय नै आउनुपर्ने हुन्छ । कार्यालय आउनै पर्ने भएपछि फारम पनि कार्यालयले नै भरिदिने हुँदा मतदाता यहिँ आउन खोज्छन् ।’
अनलाइन मार्फत नाम दर्ता गराएर बायोमेट्रिक र फोटोको लागि मात्रै आउँदा काम छिटो हुने जिल्ला निर्वाचन अधिकृत थापाको भनाई छ ।
निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी असार १ गतेदेखि देशभर पुनः मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्य सुरु गरेको थियो । जिल्ला निर्वाचन अधिकृत कार्कीका अनुसार चितवनमा आज (मंगलबार) १४ हजार जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
यसअघि स्थानीय तहको चुनावमा चितवनका सात पालिकामा जम्मा मतदाताको संख्या ३ लाख ९७ हजार ६८५ रहेको थियो ।