चितवन । नेकपा एमालेका नेता योगेश भट्टराईले शेरबहादुर देउवालाई ड्राइभिङ सिटमा राखेर नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कस्तो समाजवाद खोजेका हुन् ? भन्ने प्रश्न गरेका छन् ।
आज भरतपुरमा भएको पत्रकार सम्मेलनमा नेता भट्टराईले कांग्रेसलाई बोकेर हिँड्नेहरुले यो देशमा समाजवाद ल्याउन नसक्ने दावी गरे । नेता भट्टराईले भने, ‘यो सरकारले महँगी बढाएको छ, भ्रष्टचार चरम छ । सशासन छैन, परराष्ट्र नीति भद्रगोल छ ।’
उनले सरकारले गरेको बेथितिको भन्डाफोर गर्न नेकपा एमाले सदनबाट सडकमा जाने बताए । उनले भने, ‘एमाले महँगी र भ्रष्टाचारविरुद्ध सडकमा जाने निर्णय गरेको छ, साउन १६ गते काठमाडौँमा विरोधसभा समेत गर्दैछौँ ।’
उनले निर्वाचन समयमै गर्न सरकारलाई दबाब दिएको बताए । उनले भने, ‘मंसिर ४ गते नै संघीय संसदको चुनाव हुनुपर्छ भन्ने अडानमा एमाले छ, तर यो सरकार फागुनसम्म चुनाव धकलेर सत्ता लम्व्याउन खोजिरहेको छ ।’ नेता भट्टराईले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई जबर्जस्ती निर्दोष बनाउन जबर्जस्ती लादेर छानविन समितिले प्रतिवेदन ल्याएको आरोप लगाए ।