चितवन । नेकपा एमाले चितवनले नागरिकता विधेयकविरुद्ध चौबिसकोठीमा सभा गरेको छ । नेकपा (एमाले) मोर्चा संगठन चितवनले नागरिकता विधेयक, भ्रष्ट्राचार र अत्याधिक मूल्यवृद्धि विरुद्द चौबिसकोठीमा विरोध सभा निकालेको हो ।
विरोध सभामा सांसद कृष्णभक्त पोखरेलले सरकारले राष्ट्रघाती नागरिकता विधेयक ल्याएको आरोप लगाए । सभामा उनले भने, ‘भारतमा नेपाली चेली विवाह भएर गएको सात वर्षपछि बल्ल त्यहाँको नागरिकता पाउँछन्, तर भारतीय चेली नेपालमा विवाह भएर आएको भोलिपल्ट नागरिकता दिने काम अहिलेको शेरबहादुर देउवा सरकारले ल्यायो ।’
उनले राष्ट्रघाती नागरिकता विधेयकविरुद्ध जनतालाई उभिनलाई आह्वान गरे । उनले भने, ‘महँगी बढेको, किसानले मल पाएका छैनन्, देशमा उत्पादकत्व घटिरहेको छ, भ्रष्टाचार मौलाएको छ, तर कम्फरटेवल यो सरकार आफ्नो स्वार्थमा लिप्त छ, आफ्ना सुविधामा मस्त छ ।’ सभामा अनेरास्ववियु चितवनका संयोजक अनिल गुप्ताले सरकारले राष्ट्रघाती नागरिकता विधेयक ल्याएको बताए ।